काठमाडौं– शैक्षिक सत्र २०७५ का लागि देशका विभिन्न जिल्लाबाट ४६ जनाले ‘वैदेशिक रोजगार छात्रवृत्ति’ पाउने भएका छन्। रोजगारीका क्रममा विभिन्न देशमा ज्यान गुमाएका मृतक कामदारका छोराछोरीले छात्रवृत्ति पाउने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जानकारी दिएको छ।
बोर्डले गत आर्थिक वर्षको चैत महिनामा छात्रवृत्तिका लागि आवेदन माग गरेको थियो। जसमा ६७ जनाले आवेदन दिएकोमा ४६ जना मात्रै छात्रवृत्तिका लागि छनोटमा परेको बोर्डले जानकारी दिएको छ।
कक्षा ८ सम्मका विद्यार्थीले ८ हजार र ९ देखि १२ कक्षासम्मका विद्यार्थीले १२ हजार रुपैयाँ छात्रवृत्ति बोर्डले उपलब्ध गराउने गरेको छ। सरकारी र निजी विद्यालय दुवैमा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाँउछन्।
जिल्ला प्रशासन कार्यालय मातहत रहेको शिक्षा तथा समन्वय इकाई मार्फत छात्रवृत्तिका लागि छनोट गरिएको छ।
बोर्डले २०७० सालदेखि वैदेशिक रोजगारीका क्रममा मृतृक कामदारका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। हालसम्म ५ सयभन्दा बढीलाई छात्रवृत्ति उपलब्ध गराएको बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।