बामाको– मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन्।
स्थानीय समूहहरुबीच भएको झडपका क्रममा बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले बताएका छन्।
अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ। डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको बताइएको छ।
‘मंगलबार ११ जना फुलानी नागरिक अपहरणमा परेका थिए। उनीहरूलाई बानी नदी हुँदै बजारतर्फ गइरहेका बेला सोफाराबाट डोगोङ लडाकूहरुले अपहरण गरेका हुन्’, फुलानी एसोसिएसनका प्रमुख अब्दौल अजिज डिआलोले भने।
उनले थपे, ‘तर आज उनीहरू मृत अवस्थामा रहेको प्रमाण फेला परेको छ।’
फुलानी, बाम्बारा र डोगोङ किसानकाबीचमा विगत तीन वर्षदेखि मध्य मालीमा द्वन्द्व भइरहेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।