पेरिस– फ्रान्सेली होटेल तथा रेष्टुरेन्टका सञ्चालकहरूले कामदारको अभाव टार्न आप्रवासी शरणार्थीलाई लिने प्रस्ताव सरकारसँग गरेका छन्।
आप्रवासी शरणार्थीलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरी शरणार्थीका कारण बेलाबखत सिर्जना हुने समस्यालाई नियमन गर्न उनीहरूलाई रोजगारी दिने प्रस्ताव होटेल तथा रेष्टुरेन्ट सञ्चालकहरूले गरेका हुन्।
फ्रान्सको होटेल उद्योगसम्बन्धी निकाय यूएमआइएचका अध्यक्ष रोलान्ड हेगले भने, ‘होटेल तथा रेष्टुरेन्टको क्षेत्रमा कामदारको व्यापक अभाव महशुस हामीले गरेका छौँ। आप्रवासी शरणार्थीलाई काम दिएर यसको समाधान खोज्ने प्रस्ताव गरेका छौँ।’
‘कम्पनीहरूले कामदारको मागलाई स्वदेशी जनशक्तिबाट धान्न कठीन भएको छ। हामीले शरणार्थीलाई हाम्रो व्यवसायमा जोडेर समस्याको समाधान गर्न सरकारसँग समन्वय गरेका छौँ। अनुमति पाएमा सोही अनुरूप अघि बढ्ने सोच छ।,’ उनले थपे।
अन्य विकसित मुलुकमा जस्तै फ्रान्समा निम्न आम्दानीका कामदारका लागि समस्या देखिँदै आएको छ। होटेलको उच्च आम्दानी हुने आतिथ्य क्षेत्रका कामदारका लागि खासै समस्या नभएपनि महादेशीय खाना तथा सरसफाई गर्ने कामदारको भने अभाव रहँदै आएको छ।
‘हामीले लिने भनिएका कामदारमध्ये ५० प्रतिशत रोजगारी स्थायी प्रकृतिका रहने र बाँकी अस्थायी हुनेगरी करार सम्झौता गर्न तयार छौँ।’, हेगले बताए।
फ्रान्सले सन् २०१७ मा १ लाख आप्रवासी शरणार्थी भित्र्याएको थियो। यो पहिलेका वर्षहरूमाभन्दा १७ प्रतिशतले बढी हो।
फ्रान्सको कानून अनुसार शरणार्थीले आवासीय अनुमति पाएपछिमात्र देशभित्र काम गर्न सक्छन तर शरणार्थी दावीसाथ अनुमतिका लागि उनीहरूले निवेदन दिएको ९ महिना पर्खनुपर्ने हुन्छ।
फ्रान्सको संसदबाट आप्रवासीसम्बन्धी बिल गत हप्ता पास गरेको थियो। तर बिलले कानूनी स्वरूप पाउन भने राष्ट्रपतिबाट उक्त विधेयकमा हस्ताक्षर गर्नुपर्छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।