काठमाडौं– तत्कालीन समयमा अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ४ वर्ष लगाएर ५ जना गुण्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्यो। अवैधानिक क्रियाकलापबाट सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको भन्दै २०७० जेठ ५ मा विशेष अदालतमा करोडौं रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भयो।
मुद्दा दर्ता भएको ४ वर्षपछि मात्रै विशेष अदालतले उक्त मुद्दामा फैसला सुनाउन थाल्यो। विशेषको अन्तिम फैसलामा ऐन जारी हुनुअघि उनीहरु विरुद्ध मुद्दा दायर भएको भन्दै एकपछि अर्को गरी सफाइ दिइयो। ५ मध्ये ४ अभियुक्तले यही नजिरका आधारमा विशेष अदालतबाट सफाइ पनि पाए। तर बिहीबार गुन्डा नाइके गणेश लामाको भने २५ करोड रुपैयाँको मात्र स्रोत खुलेको भन्दै १ करोड ४० लाख ५० हजार रुपैयाँ विगो बराबर जफत हुने फैसला सुनायो।
लामाको फैसला हुदाँ उनी बाहेक अन्य सबै अभियुक्तहरु भाग्यमानी सावित भए। सुरुमा विशेष अदातलले मनाङबाट प्रदेशसभामा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) लाई सफाइ दियो। हाल ज्यान मार्ने उद्योगमा सजाय काटिरहेका उनलाई सम्पत्ति शुद्धीकरण ऐन आउनु अघिको सम्पत्ति जोडेर मुद्दा दायर भएको तर्क विशेषले गरेको थियो। सिआइबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा मनाङेको नाममा १४ करोडभन्दा बढीको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको देखिएको दाबी गरिएको थियो। तर, विशेषले त्यसलाई पुष्टि गर्ने आधार नै नभएको भन्दै २०७४ भदौ ५ मा सफाइ दिने फैसला सुनायो।
एकैदिन मुद्दा खेपेका अन्य ४ जना गुण्डा नाइकेको अन्तिम सुनुवाइ चलिरहेको समयमा मनाङेले पहिलो सफाइ पाएका थिए।
मनाङेपछि उनीसँगै कुनै समयका सहयात्री र हालका कट्टर दुश्मन चक्रे मिलनले सफाइ पाएका थिए। चक्रेले ८ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी गर्दै दायर भएको मुद्दामा सोही तर्क र नजिरको आधारमा उन्मुक्ति पाए।
चक्रे मिलनको नाममा काठमाडौंमा ७ आना जग्गा र उनको परिवारका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड अवैध सम्पत्ति रहेको दावी गरिएको थियो। उनलाई विशेषले माघ १० गते सफाइ दिने फैसला सुनाएको हो।
चक्रे मिलनपछि अर्का गुण्डा नाइके परशुराम बस्नेतले सफाइ पाए। बस्नेतसँग विभागले ११ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको दावी गरेको थियो। बस्नेतले श्रीमतीसँगै सहयोगी मुकेश बस्नेतको नाममा गुण्डागर्दीबाट आर्जन गरेको सम्पत्ति जोडेको दावी गरिएको थियो। आरोपपत्रमा मोरङमा ४२ रोपनी जग्गा, ३ वटा गाडी, एडजोन एड्भटाइजिङ, पिआर हार्डवेयर, बंगलामुखी विल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवा लगायतमा भएको लगानी अवैध तरिकाबाट आर्जन गरिएकोले जफत हुने भनिएको थियो।
तर, विशेष अदालतले उनको सम्पत्ति शुद्धीकरण ऐन आउनुअघि आर्जन गरेको भन्दै सफाइ दिएको थियो। विशेषले बस्नेतलाई २०७४ चैत २५ गते सफाइ दिने फैसला सुनाएको थियो।
२०७५ असारमा अर्का प्रतिवादी अभिषेक गिरीले पनि सोही अभियोगमा सफाइ पाए। न्यायाधीशहरु बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले गिरीलाई सफाइ दिने फैसला सुनाएको हो। विभागले गुण्डा नाइके गिरीले २ करोड ९४ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको दावी गरेको थियो। व्यक्ति अपहरण गरेको अभियोगमा हाल थुनामा रहेका गिरीले पनि मनाङेसहितका गुण्डा नाइकेको नजिरका आधारमा सफाइ पाएका हुन्।
एकैदिन अभियोग खेपेकामध्ये लामाको मुद्दा मात्र फैसला हुदाँ मात्र आशिंक ठहर भएको छ। विगतमा महान्यायाधीवक्ता कार्यालयले मुद्दा नचालउने भनि गरेको निर्णयभन्दा पछिको लामाको सम्पत्ति जोड्दा स्रोत नखुलेपछि उनी दोषी ठहर भएको विशेषको फैसलामा उल्लेख छ।
एकै अभियोगमा दर्ता भएका मुद्दामा अन्य अभियुक्तहरुले सफाइ पाएपनि लामाको हकमा उक्त नजिर लागू भएन।
विभागसँगको समन्वयमा सिआइबीले गरेको अनुसन्धानमा सबैको सम्पत्ति विवरण गैरकानुनी भएको दावी आरोपपत्रमा गरिएको थियो। विभाग र ब्युरोको संयुक्त अनुसन्धानमा लामाको सम्पत्तिको लामो फेहरिस्त देखाइएको थियो। लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको दावी आरोपपत्रमा गरिएको छ।
लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गाका साथै २७ करोड रुपैयाँ अवैध सम्पत्ति रहेको दावी गरिएको छ। क्रसर र निर्माण कम्पनीमासमेत उनको सेयर रहेको आरोपपत्रमा उल्लेख थियो।
बिहीबार फैसला गर्दै विशेषले सोही सम्पत्तिबाट लामासँग १ करोड ४० लाख ५० हजार रुपैयाँ विगो असुल गर्न भनेको छ। लामालाई दोषी ठहर गर्दै एक वर्षसम्म सजाय हुनेसमेत फैसला सुनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।