एसियाली खेलकुद (एसियाड)मा नेपालको तर्फबाट भाग लिने प्याराग्लाइडिङका ८ खेलाडीमध्ये कान्छा सदस्य हुन्, युकेश गुरुङ। १६ वर्षीय युकेश उमेरमा कलिलै भएपनि प्याराग्लाइडिङका प्रतियोगितामा भने अनुभवी भइसकेका छन्।
११ वर्षको उमेरदेखि प्याराग्लाइडिङ उडान भर्न थालेका उनले इन्डोनेसिया, चीन र भारत लगायतका देशका आकासमा आफ्नो कौशल देखाइसकेका छन्। इन्डोनेसियामा त ३ पटक पुगिसकेका छन्।
बुधबार चौथो पटक इन्डोनेसियाका लागि प्रस्थान गर्दा उनमा बेग्लै उत्साह थियो।
उत्साहित नहुन् पनि त कसरी। पोखराका बासिन्दा युकेश प्लाराग्लाइडिङसँगै खेलेर हुर्किए। पारिवारिक माहोल पनि त्यस्तै थियो। युकेशका बुवा भूपाल प्याराग्लाइडिङका व्यासायिक पाइलट हुन्। अहिले उनी यही पेशामा छन्। त्यसैले उनमा प्याराग्लाइडिङप्रति विशेष लगाव छ।
पोखराको प्लाराग्लाइडिङ ल्यान्डिङ हुने स्थान युकेशको घर नजिकै पर्छ। त्यसैले बाल्यकालमा उनले प्याराग्लाइडिङका उडान नदेखेको दिन भएन। कहिले घरकाे छतबाट त कहिले ल्यान्ड हुने स्थानमै पुग्थे। 'हाम्रो घर नजिकै प्याराग्लाइडिङ ल्यान्ड हुन्थ्यो। झुम्मिदै हामी हेर्न जान्थ्यौं,' युकेश सम्झन्छन्, 'क्यानोपी पुरानो भएपछि कोही-कोहीले छोडेर पनि जान्थे। त्यसपछि हामीलाई के चाहियो र। त्यही क्यानोपी भिरेर उड्ने कोशिस गरिहाल्थ्यौं।'
उनलाई त्यतीबेलै व्यावसायिक प्याराग्लाइडर्स जस्तै आकासमा उडुँउडुँ लाग्थ्यो। तर उमेरले छेक्यो उनलाई। 'अरु प्लाराग्लाइडर्स जस्तै आकासमा उड्न मन लाग्थ्यो,' युकेश भन्छन्, 'एकदिन व्यावसायिक पाइलट जसरी पनि बन्छु भनेर कल्पनामै रमाउँथे।' त्यसैले उनले केहि वर्ष हेरे, सिके र कुरे पनि।
बुवा व्यावसायिक पाइलट भएकाले उनलाई सिक्न समस्या भएन। उनले ११ वर्षको उमेरमै प्याराग्लाइडिङ उठाउन थाले। 'उठाउन सक्छु भन्ने थियो। सुरुमा त डर लाग्यो। आकासमा उड्न थालेपछि रमाइलो लाग्दै गयो,' ७ वर्षअघिको पहिलो उडानबारे युकेशले सम्झिए।
युकेशले पहिलो पटक प्याराग्लाइडिङ उडाएको दिन बुवा भूपाल भने काठमाडौंमा थिए। उनलाई युकेशप्रति विश्वास थियो। तर आफ्नै छोरा भएकाले उनमा कताकता डर पनि थियो। 'म काठमाडौंमा थिएँ। मन भने पोखरामा। छोराले पहिलोपटक प्याराग्याइडिङ उडाउँदैछ भन्दा डर लाग्दो रहेछ,' भूपाल भन्छन्, 'तर उसले राम्रो उडाउँछ भन्ने आत्मविश्वास भने थियो। किनकी समूहमा राम्रो उडाउनसक्ने उसकाे क्षमताकाे म जानकार थिएँ।'
पहिलोपटक प्लाराग्लाइडिङ उडाएपछि उनी बिस्तारै त्यसतर्फ आकर्षित हुन थाले। दिनरात प्लाराग्लाडिङकै सपना देख्न थाले। त्यहीबेला उनी 'क्रस कन्ट्री साइक्लिङ' पनि गर्थे। प्याराग्लाइडिङ र साइक्लिङका प्रतियोगितामा भाग लिन्थे।
सन् २०१३ को डिसेम्बरमा उनले प्याराग्लाडिङको अाधिकारिक कोर्ष गरे। त्यसपछि उनी प्याराग्लाइडिङकै लागि दिलोज्यान दिन थाले। स्वदेशमा भएका प्रतियोगिताहरुमा भाग लिन थाले।
सन् २०१४ पछि त उनी पोखराका 'फुच्चे प्याराग्याइडर्स'को रुपमा चिनिन थाले। पोखरामा भएका प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनको प्याराग्लाइडिङको विश्व पाइलट वरीयतामा पनि सुधार आउँदै गयाे। जसले गर्दा सन् २०१५ मा भारतमा भएको प्याराग्लाइडिङ विश्वकपमा नेपालको तर्फबाट भाग लिने अवसर पाए। यही प्रतियोगिताले उनलाई प्याराग्लाइडिङ खेलाडीको रुपमा स्थापित गराइदियो।
१५ वर्षको उमेरमा विश्वकपमा भाग लिएका युकेशले पछिल्लो ३ वर्षमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका छन्। यसबीचमा उनले अाफूलाई सिंगलबाट टेण्डम (दुई जना राखेर उडाउने) उडान भर्नसक्ने बनाइसकेका छन्।
उनीसहितको नेपाली टिमले गत वर्ष इन्डोनेसियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रीमा पहिलो स्थान हात पारेको थियो। लगत्तै चीनमा भएको प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भएको थियो।
त्यसलै पनि यसपटकको एसियाडमा नेपालले ऐतिहासिक पदक जित्ने युकेशको विश्वास छ। 'हाम्रो ग्राउन्ड ह्यान्डलिङ र एक्युरेसी एकदमै राम्रो छ। अन्य पक्ष पनि सुधार गरिरहेका छौं,' उनी भन्छन्, 'इन्डोनेसियामा यसअघि पनि खेलिरहेकाले आत्मविश्वास बढेकाे छ।'
युकेशसँगै एसियाडमा विमल अधिकारी (टिम कप्तान), विशाल थापा, सुशील गुरुङ र विजय गौतम छन्। नेपालका तर्फबाट त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङले पनि प्रतिस्पर्धा गर्नेछन्। नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष दुवै इभेन्टमा छुट्टा–छुट्टै पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
'एसियाडका लागि राम्रो तयारी गरेका छौं। टिममा रहनु भएका सिनियर दाईहरुको मिहिनेतले यसपटक हामीले पदक जित्ने लक्ष्य बनाएका छौं,' एसियाडका लागि इन्डोनेसिया प्रस्थान गर्नुअघि नेपाल लाइभसँग उनले आफ्नो लक्ष्य सुनाए।
यसपटक नेपालले टिम क्रस कन्ट्रीमा पदक जित्ने प्रवल सम्भावना रहेको उनले दाबी गरे। 'हाम्रो टिम क्रस कन्ट्रीमा राम्रो भइरहेको छ। यसमा फोकस भएर प्रशिक्षण पनि गरेका छौं, एक साता इन्डोनेसियाको वातावरणमा भिज्न पाउँदा थप सहज हुन्छ' उनले प्रस्ट्याए।
एसियाडमा पदक जित्नु नेपालका लागि कठिन विषय हो। १६ वर्षे युकेश भने पदक हात पार्नेमा आत्मविश्वासी मात्र होइन उत्साहितसमेत छन्।
एसियाडको प्याराग्लाइडिङमा १९ देशका खेलाडी प्रतिस्पर्धा गर्दैछन्। इन्डोनेसियाको वेस्ट जाभामा हुने प्रतिस्पर्धामा पदक जित्ने १६ वर्षे युकेशमा मात्र होइन सिंगो नेपाली खेलकुदको अपेक्षा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।