काठमाडौं– एसिसी एसिया कप छनोटका लागि नेपालको ब्याटिङ प्रशिक्षकमा भारतका अपूर्व सुबोध देशाई नियुक्त भएका छन्। उनलाई एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीले जनाएका छन्।
देसाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डबाट मान्यता प्राप्त लेभल सी प्रशिक्षक हुन्। गुजरातका उनी ब्याटिङ प्रशिक्षणमा दख्खल राख्छन्। उनले गजुरातबाट पहिलो श्रेणीका क्रिकेट खेलेका थिए। बिसिसीआईको एकेडेमीमा रहेर उनी उमेर समूहका टिमलाई प्रशिक्षण दिने गर्छन्। यस्तै उनीसँग आइपिएल टिमका लागि खेलाडी छनोट गरेको अनुभव पनि छ।
उनले आगामी २९ साउनदेखि नेपाली टिमलाई ब्याटिङ सिकाउने छन्। स्वदेशमा एक साता अभ्यास गरेपछि उनले १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गर्न प्रशिक्षक जगट टमाटालाई सघाउनेछन्।
१५ सदस्यीय टिम घोषणा पछि नेपाली टिम आगामी भदौ ४ गते श्रीलंका प्रस्थान गर्नेछ। श्रीलंकामा प्रशिक्षणका दौरान नेपलले ३ वटा अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टिम एसिया कप छनोट खेल्न मलेसिया जानेछ। भदौ ११ देखि २२ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ। नेपाल र युइई एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन्। त्यसैले नेपाल र युएईबीचको खेल एकदिवसीय हुनेछ।
६ टिम मध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा खेल्न पाउनेछ। एसिया कपको समूह विभाजन यसअघि नै भइसकेको छ। एसिया कपको समूह 'ए' मा भारत, पाकिस्तान र छनोट हुने एक टिम परेका छन्। समूह 'बी' मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।
प्रारम्भिक टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, सागर पुन, सन्दीप लामिछाने, सुवास खकुरेल, सुनील धमला, सुसन भारी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।