काठमाडौं– बैंकर्स एसोसिएसन अफ नेपालले तत्काल कर्जाको ब्याजदर घटाउन नसकिने स्पष्ट पारेको छ।
बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले तत्काल कर्जाको ब्याजदर घटाउन नसकिने प्रष्टयाएका हुन्।
नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन निर्देशन दिइरहँदा एसोसिएसनले तत्काल त्यसो गर्न नसकिने जवाफ दिएको हो। एसोसिएसनका अध्यक्ष ढुंगानाले कर्जाको तत्काल ब्याजदर २ प्रतिशत घटाउन बैंकसँग पर्याप्त लगानी नभएको तर्क गरे। उनले असोजबाट भने कर्जाको ब्याजदर घटाउन सकिने योजना पनि अघि सारे।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले बैंकहरुले लगानीलाई आकर्षण गर्न पनि तत्काल कर्जाको ब्याजदर घटाउन नमिल्ने उल्लेख गरे।
अध्यक्ष ढुंगानाले बैंकको आन्तरिक खर्च ८० प्रतिशतसम्म वृद्धि भएकाले पनि कर्जाको ब्याजदर तत्काल घटाउन सकिने अवस्था नरहेको बताए। देशका विभिन्न भागमा शाखा कार्यालयहरु स्थापना गर्दा बैंकको आन्तरिक खर्च बढ्न गएको एसोसिएसनको स्पष्टिकरण छ।
अध्यक्ष ढुंगानाले बैंकहरुले देशभर सेवा प्रवाहका लागि शाखा विस्तारको काम गर्दा पनि आलोचना हुने गरेको भन्दै असुन्तष्टि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।