केही दिनअघि संसदमा सर्वोच्चमा पदमा आसिन एक कालो कोटधारीको शैक्षिक योग्यतामाथि बहश भइरहेको थियो । त्यही संसद रहेको शहरको एक कुनामा ८ जना कालो कोटका आकांक्षी (कानूनका विद्यार्थी) यो देशको कानून बन्ने प्रक्रियामाथि बहश गरिरहेका थिए।
संसदको वहश पट्यारलाग्दो भइसकेको थियो। न्यायअन्यायको तुलो बोकेर हिँड्नेहरुको योग्यतामाथि प्रश्न चिह्न यसैपनि दिक्कलाग्दो कुरा हो। त्यसैमाथि हरेकपल्ट दोहोरिनु पट्यारलाग्दा भन्दा बढी डरलाग्दो कुरा हो। न्यायमूर्ति भनिनेप्रति निराशा जाग्ने यो प्रसंगबाट बाहिर निस्केर आशा लाग्दा कालोकोटका आकांक्षी युवाहरु सस्मित पोखरेल, सक्षम प्याकुरेल, कुमार सिलवाल, श्रेया जोशी, अनुष्का पन्त, अविषी दाहाल, अस्मिता कक्षपति र आयुष कोइरालालाई भेटिएको थियो।
त्यही कालोकोटको आकांक्षा बोकेर आएको यो नयाँ पुस्ताले शहरको एक कुनामा गरिरहेको कामले आशा जगाउँछ । एक पेशामाथि उठ्दै गरेको जनविश्वास भविष्यमा फर्किन सक्ने संकेत गरिरहेको छ।
सवैलाई एक ठाउँ ल्याएर नयाँ तरिकाले अघि बढ्न उक्साउने व्यक्ति काठमाडौं युनिभर्सिटी बिएल दोस्रो वर्षमा अध्ययन गरिरहेका सस्मित पोखरेल हुन्। अमेरिका इन्फरमेसन टेक्नोलोजीमा पढेर उनी देशमै ‘केही गर्न’ फर्केका हुन्। नेपाली युवाले दिनरात अमेरिकाको सपना देखिरहेका बेला यी तन्नेरीको नेपाल फिर्ती आफैंमा एउटा आशाको सञ्चार गर्ने विषय सक्छ। उनको अनुसार नेपालमै आफ्नो भविष्य खोज्ने गरी अमेरिकाबाट एउटा जमातै फर्केको छ र फर्किन खोजिरहेको छ।
नेपाल फर्किएका सस्मितको चाहना कानूनलाई आइटीसँग जोड्ने हो। त्यसैले कानून पढिरहेका छन् र सँगै यसका लागि ‘एप्लिकेशन’ बनाउने काममा सक्रिय छन्। हालसम्म उनको आत्मविश्वासमा काठमाडौं सडकको हिलो छ्यापिइसकेको छैन। त्यसकारण उँचो स्वर गरेर भनिरहेका छन्, ‘देश त हाम्रो पुस्ताले बनाउने हो।’ उनको जस्तो आत्मविश्वास रहेको युवा पुस्ताले अहिले निराशाको धुलोले ढाकेको काठमाडौंमा आशाको अक्सिजन खोजिरहेको छ।
देशमा तीन तहका सरकार छन्। तीनै विभिन्न कानून, नीति, रणनीति, नियम, नियमावली बनाउन व्यस्त छन्। सस्मित र उनीसँग जोडिएका अरु ७ जना कानूननका विद्यार्थीहरुलाई यो बन्ने प्रक्रिया अजब–गजब लागिरहेको छ। ‘कसैले तयार पारेर ल्याएको विधेयक प्रशस्त छलफल विना तरर ताली बजाएर पास हुन्छ,’ बिएल पाँचौं वर्षमा अध्ययनरत श्रेया जोशीले यति भनेर कटाक्षदर्शी मुस्कान फ्याँकिन्।
जति यो देशमा नीतिनियम बन्ने प्रक्रिया उनीहरु बुझ्दै गइरहेका छन्, कानूनका विद्यार्थीका हिसाबले त्यति नै चकित पर्दै गइरहेका छन्। देशलाई डोर्याउन नीतिनियम बन्दै गर्दा लाग्ने गरेको पार्टीको ह्वीप देखेर अच्चम्म लागिरहेको छ, आयुष कोइरालालाई। उनको प्रश्न छ, ‘यस्ता दीर्घकालिन प्रभाव र महत्व भएका विषयमाथि त स्वतन्त्र बहश हुनु पर्ने होइन र?’
यसबीचमा यो समूहले प्रदेश र संघका केही सांसद भेटेको छ। आफूले बनाइरहेका नीति नियमहरु बारे उनीहरुको सामान्य ज्ञान बुझेको छ। त्यसबाट बिएल चौथो वर्षकी विद्यार्थी अनुष्का पन्तको मनमा जिज्ञासा उठेको छ, ‘देशको कानून बनाउने ठाउँमा पुगेका मान्छेहरुमा न्युनतम कानूनी ज्ञान त हुन पर्ला नि!’
'नभए पनि चल्छ' भन्ने वास्तविक संसारमा यो पुस्ता घुसिसकेको छैन। विवेकशिल साझाका तर्फबाट प्रदेश नं ३ मा सांसद बनेका विराजभक्त श्रेष्ठ यही उनीहरुको बलियो पक्ष रहेको ठान्छन्। उनी भन्छन्, ‘उहाँहरुलाई के भइरहेको भन्ने भन्दा पनि के हुनुपर्छ थाहा छ।’
केही समयअघि प्रदेश महान्याधिवक्ताको काम, कर्तव्य र अधिकार प्रदेश संसदले पास गर्नुअघि सांसद श्रेष्ठले यो समूहलाई अध्ययनका लागि दिएका रहेछन्। यो समूहले २४ घन्टाभित्र कारण सहित २१ बुँदामा संशोधन हुनुपर्ने निष्कर्ष निकाल्यो। सांसद श्रेष्ठ प्रभावित भए। उनले त्यही संशोधन संसदमा दर्ता गराए पनि। तर, केन्द्र सरकारको अनुमति चाहिने र प्रदेश सरकारमा उनको पार्टीको अल्पमतको शिकार भयो संशोधन।
समूहको नेतृत्व गर्ने सस्मित पोखरेल भन्छन्, ‘अस्वीकृत भएपनि रेकर्डमा छ। भोलि अप्ठ्यारो परेका समयमा त्यो बेला यस्तो संशोधन परेको थियो भन्ने कुरालाई नजिरका रुपमा लिएर न्यायधिशले फैसला सुनाउन सक्छ।’
त्यसपछि युवा सांसद श्रेष्ठले उनको समूहलाई प्रदेश ३ को सरकारले पारित गर्न लागेका विधेयकहरु निरन्तर पठाउँछन् र प्रतिक्रिया लिन्छन्। अहिले आफूले पेश गर्न लागेको ‘इन्भाइरोमेन्ट प्रोटेक्सन एक्ट’को खाका बनाउन सांसदले श्रेष्ठले यही समूहलाई जिम्मा दिएका छन्।
कुनै विधेयक आफूले प्राप्त गरेपछि त्यसलाई अध्ययन गरेर कानूनी त्रुटी, विश्वले गरिरहेको अभ्यास र नेपालको अवस्थालाई लिएर धारणा बनाउने गरिएको बिएल चौथो वर्षका विद्यार्थी सक्षम प्याकुरेल बताउँछन्।
कानून सैद्धान्तिक भन्दा बढी व्यवहारिक विषय रहेको बिएल पाचौं वर्षका विद्यार्थी आयुष कोइरालालाई लाग्छ। यही कारणले पहिले पढाइमा कमजोर विद्यार्थीले कानून रोज्ने गरेको उनी बताउँछन्। ‘देशलाई सही मार्गमा डोर्याउने, नागकिरलाई जिम्मेवार बनाउने र न्याय दिने विषय कसरी सैद्धान्तिक हुन्छ?’ उनले प्रश्न गरे।
कानूनको व्यवहारिकतालाई बेवास्ता गरेकै कारण एउटा व्यक्ति, एउटै मुद्दामा सरकारी सेवामा हुँदा सरकारका तर्फबाट र सेवा निवृत्त हुँदा अर्को तर्फबाट बहश गर्ने ‘लुपहोल’ रहेको सस्मित बताउँछन्। उनी भन्छन्, ‘कानूनका व्यवहारिक पक्षमाथि प्रशस्त बहश नभएकै कारण यस्तो समस्या आइरहेका छन्।’
सवै सांसद कानून जान्ने नै हुनुपर्छ भन्दा पनि यस्ता विषयमा सहायता लिनुपर्ने धारणा बिएल पाचौं वर्षका विद्यार्थी कुमार सिलवालको छ। ‘संसदमा कुनैपनि कानून बनिरहँदा त्यसका विज्ञसँग परामर्श गरेर लिइएका धारणा राख्ने चलनको विकास सांसदमा हुनुपर्छ,’ उनी भन्छन्, ‘उनीहरु हरेक कुराका आफैं विज्ञ हुन सक्दैनन्। तर, विज्ञहरुका पनि प्रतिनीधि उनीहरु नै हुन्।’
बिएल तेस्रो वर्ष पढने अविषी दाहाल कानूनका विद्यार्थीहरुको पनि कमजोरी देख्छिन्। ‘पहुँच पुग्ने ठाउँसम्म आफैं सक्रिय भएर यस्ता विषयमा जानकारी गराउन हामीले सक्नुपर्छ,’ उनले भनिन्, ‘यसले एकातिर हाम्रो ज्ञानको प्रयोग हुन्छ। अर्कातिर थोरै भएपनि ‘इनपुट’ दिन पाइन्छ।’
कानून पढाइने कलेज राजनीतिक अखडा बनेकाले कालोकोटमा धुलो टाँसिएको अनुमान अस्मिता कक्षपतिले गरेकी छिन्। उनी भन्छिन्, ‘अहिले वकिल भनेपछि ‘सिध्याउँछ’ भन्ने आम मानिसमा परेको छ जहाँ अन्याय विरुद्ध कानूनका सहायताले न्याय पाइन्छ भन्ने मान्यताको विकास हुनुपथ्र्यो, त्यहाँ ढुंगामुढा गर्न सिकाइयो।’
कानूनका विद्यार्थीहरुको यो गठजोडलार्इ नमूना बनाउने उनीहरुको लक्ष्य छ। विद्यार्थीहरु हिजोका दिनमा पनि परिवर्तनका संवाहक थिए भन्ने उनीहरुलाई ज्ञान छ। ढुंगामुढा र टायर बालेर परिवर्तनमा सघाएको उनीहरुले बुझेका छन्। त्यसैले उनीहरु सवै विद्यार्थीवर्गमा आग्रह गर्छन्, ‘परिवर्तन संवाहक हामी नै हौं तर अब बल होइन, बुद्धिको प्रयोग गरौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।