रसुवा– नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माणाधिन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको बाँध निर्माणको काम रोकिएको छ। सोमबार राति अविरल वर्षासँगै आएको बाढीले बाँध स्थलमा क्षति पुर्याउँदा निर्माण कार्य रोकिएको हो।
अविरल वर्षासँगै लेन्दे खोलामा आएको बाढी भोटेकोसी नदीमा मिसिँदा निर्माणाधिन आयोजनाको ‘कफर ड्याम’ भत्किएको रसुवागढी जलविद्युत आयोजनाका प्रमुख छवि गैरेले बताए। उनले भने, ‘सोमबार राति साढे एक बजे आएको बाढीले बाँध स्थलमा क्षति पुगेको छ, रोड र पानीलाई डाइभर्ट गर्न प्रयोग गरिने कफर ड्याम भत्किएको छ।’
बाढीले आयोजना निर्माणमा प्रयोग हुने ठेकेदारका उपकरणसमेत बगाएको गैरेले बताए। उनका अनुसार कङक्रिट पम्प, कम्पेसर मेसिन, ठूला ४ वटा समरसिबल वाटर पम्प र त्यसका लागि प्रयोग हुने सामाग्रीहरु बाढीले बगाएको छ।
‘कफर ड्याम’ भत्किएसँगै मुल संरचनामा केही असर नपुगे पनि ‘अन्डरलुस’ भने डुबानमा रहेको छ। ‘इस्टक्चरमा केहि भएको छैन्, तर अन्डरलुस डुबानमा रहेको छ’, आयोजनाका प्रमुख गैरेले भने, ‘बाँध स्थलमध्ये अन्डरलुसमा धमाधम काम भइरहेको थियो। २०१८ को नोभेम्बरमा त्यो ठाउँबाट खोला फर्काएर पानी पठाउने र अहिले बगेको खोलाबाट काम गर्ने योजना थियो, त्यसलाई असर गरेको छ।’
डुबान क्षेत्रमा पानीको सतह घटेपछि बाढीले पुर्याएको क्षतिको विवरण संकलन हुने बताइएको छ। ‘खोला फर्काउने काममा असर गरेको हुदाँ क्षतिको विवरण वर्षातपछि मात्र संकलन हुनेछ, अहिले कति क्षति भयो देखिने अवस्था छैन।’, गैरेले भने।
निर्माण कम्पनीले क्षति पुगेका उपकरणको बीमा दावी प्रक्रिया अघि बढाउन आवश्यक प्रक्रिया सुरु गर्ने तयारी भइरहेको बताएको छ। कम्पनीका अनुसार कति सामग्रीमा क्षति भयो भन्ने यकिन भइसकेको छैन।
बाँध भत्किएपछि खोला फर्काउने कामसमेत प्रभावित भएको छ। वर्षात अवधिभर ‘अन्डरलुस’को काम अघि बढ्ने सम्भावना नभएको आयोजनाले जनाएको छ। कामदार खाना खान गएको समयमा बाढी आएका कारण मानवीय क्षति नभएको बताइएको छ।
बाढीले बाँधमा क्षति पुर्याएपनि सुरुङ, विद्युत गृह निर्माण लगायतको काम भने भइरहेको आयोजना प्रमुख गैरेले बताए। बाढीले आयोजनाको निर्माणाधीन संरचना डुबाउँदा विद्युत उत्पादन गर्ने पछिल्लो तालिका प्रभावित हुन सक्ने देखिएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीबाट २०७६ फागुनभित्र सबै युनिटबाट विद्युत उत्पादन सुरु गर्ने आयोजनाको तालिका थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।