काठमाडौं– एसियाली खेलकुद (एसियाड) को १७ संस्करण सकिदा नेपालले १५ संस्करणमा भाग लिएको छ। सन् १९६६ को बैंकक एसियाडदेखि नेपालले निरन्तर भाग लिइरहेको छ। तर नेपालको सफलता भने नगन्य छ।
१ रजत र २२ कास्य जित्नु एसियाडमा नेपालको उपलब्धि हो। सन् १९९८ को बैंकक एसियाडमा सविता राजभन्डारीले तेक्वान्दोमा जितेको रजत पदक नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको सबैभन्दा ठूलो पदक हो। संख्याको हिसाबले सन् १९९८ पछि एसियाडमा नेपाली खेलाडीको बाक्लो उपस्थिति रहेपनि सविताको त्यो रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैनन्। पछिल्ला २ संस्करणमा त नेपालले १–१ कास्यमै चित्त बुझाउन बाध्य भयो।
आगामी भदौ २ देखि इन्डोनेसियामा आयोजना हुने १८औं एसियाडमा नेपालमा २९ खेलमा भाग लिँदैछ। यी मध्ये नेपालले प्याराग्लाइडिङबाट पदक जित्ने आसा गरेको छ। प्याराग्लिङडिङमा नेपालल पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।
नेपालले टिम इभेन्ट्समा पदक हात पार्ने सम्भावना छ। टिम इभेन्ट्मा नेपाल भन्दा अगाडि जापान र कोरियामात्र रहेकोले नेपालको पदक सम्भावना छ।
प्रशिक्षक सानुबाबु सुनुवारले नेपालले पदक जित्ने विश्वास व्यक्त गरे। 'हामीले एसियन गेम्सका लागि विगत ६ महिनादेखि तयारी गरिरहेका छौं। यसपटक नेपालले पदक जित्ने सम्भावना छ,' सुनुवारले नेपाल लाइभसँग भने, 'हाम्रा खेलाडी राम्रा छन्। प्याराग्लाइडिङको सामग्री महँगो हुने भएकाले भनेजस्तो तयारी पाएनौ, तर पनि हामीलाई पदक जित्ने विश्वास छ' सुनुवार भन्छन् ।
५ पुरुष र ३ महिला खेलाडी गरि ८ खेलाडीले एसियाडका लागि पोखरामा तयारी गरेका थिए। प्याराग्लाइडिङको लागि पोखरा दशौं उच्च स्थानमा पर्ने भएकाले नेपालको तयारी राम्रो भएको प्रशिक्षक सुनुवारले बताए।
नेपाली टिम इन्डोनेसियाको वातावरणमा घुलमिल बुधबार त्यसतर्फ प्रस्थान गरेको छ।
नेपाली प्याराग्लाइडिङ टिममा रहेका सबै खेलाडी कास्कीका हुन्। एसियाडमा प्रतिस्पर्धा गर्ने खेलाडीमा विमल अधिकारी (टिम कप्तान) विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ र विजय गौतम छन्। यस्तै त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ रहेका छन्।
नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टा–छुट्टै पदकका प्रतिस्पर्धा गर्नेछन्।
प्याराग्लाइडिङमा विश्व वरीयतामा पहिलो स्थान इटाली र दोश्रो स्थानमा फ्रान्स छन्। नेपाल विश्वको सातौं वरीयतामा छ। नेपालले यसअघि इन्डोनेसियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रिमा पहिलो स्थान र चीनमा भएको प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भएको थियो। यस्तै नेपालका ६ खेलाडी विश्व वरीयतामा उत्कृष्ट १० भित्र रहेका छन्। त्यसैले पनि नेपालले एसियाडमा पदकको आसा गरेको हो।
प्याराग्लाइडिङको प्रतिस्पर्धा अगस्ट १८ देखि ३० गते सम्म हुनेछ। प्रतिस्पर्धा वेस्ट जाभाको पुनकाकमा हुनेछ। प्रतियोगितामा १९ देशका १ सय ३० खेलाडीले भाग लिँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।