काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा हुने बदमासी रोकिएको छैन। तीन साताअघि क्यामरुनका दुई नागरिक नक्कली भिसा प्रयोग गरी नेपालको विमानस्थलबाट उडेको खुलेको छ।
गत असार ३० मा क्यामरुनका रोमारिक बेटाट एनज्युफाङ (पासपोर्ट नम्बर ०६९५००५) र भानेसा यानेन (पासपोर्ट नम्बर ०४५२९३४) युरोपियन देशको सेन्जेन भिसा देखाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडेका थिए। भोलिपल्ट कतारको अध्यागमनले उनीहरुलाई ‘इन्ट्री रिफ्युज’ गरी नेपाल नै फकाईदियो। त्यसपछि मात्र उनीहरुको भिसा नक्कली भएको अध्यागमन कर्मचारीले चाल पाए।
अध्यागमन विभागले उनीहरुलाई थुनामा राखी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा भिसा नक्कली भएको पुष्टि भएपछि उनीहरुलाई १०/१० हजार रुपैयाँ जरिवाना तिराएर नेपालबाट निष्कासन गरिएको छ।
गत सोमबार उनीहरुलाई १ वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ। अध्यागमनले उनीहरुलाई कालोसूचिमा समेत राखेको छ।
पर्यटक भिसामा नेपाल आएका उनीहरु युरोप छिर्ने योजनाका साथ आएका थिए।
याे पनि:अध्यागमन ‘अपरेसन’ : एउटाको राहदानीमा अर्को उड्दै
उनीहरुलाई निष्कासन गरिए पनि अध्यागमन कार्यालय विमानस्थलमा भएको कमजोरीबारे छानबिन गरेर दोषी कर्मचारीमाथि भने कारबाही प्रक्रिया सुरु हुन सकेको छैन।
कर्मचारीमाथि कारबाही नहुँदा अध्यागमनमा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन्।
विगतमा धेरै पटक नक्कली पासपोर्ट तथा भिसा प्रयोग गरी विदेशीहरु नेपाली अध्यागमनबाट पास हुने गरेका छन्। कतिपय व्यक्ति सेटिङमा त कतिपय कर्मचारीको कमजोरीका कारण यसरी नक्कली कागजपत्रका आधारमा विदेशीहरु उड्ने गरेका छन्।
अध्यागमनमा दक्ष कर्मचारीको अभाव र पुरानो प्रविधिका कारण पनि यस्ता घटना दोहोरिने गरेका छन्। युरोप तथा अमेरिका लगायतका देश जान धेरै मुलुकका व्यक्तिले नेपाललाई ‘ट्रान्जिट’ का रुपमा प्रयोग गर्दै आएका छन्।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अध्यागमन सुधारलाई प्राथमिकतामा राखे पनि योजनाअनुसार काम गर्न भने सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।