भैरहवा– बेलहिया–बुटवल ६ लेन सडकखण्डमा आकासे पुल निर्माणमा ढिलाइ भएको छ। आकासे पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनी महादेव खिम्ती एसियाटिक महेस जेभीले समयमा काम नगर्दा आकासे पुलको निर्माण समयमै हुन नसकेको हो।
गृहमन्त्री रामबहादुर थापाले लापरवाहीपूवर्क काम गर्ने ठेकेदारलाई कारबाही गर्ने घोषणा गरेपछि ठेकेदार कम्पनीले केही दिन तीव्र गतिमा काम गरे पनि अहिले पुनः आकासे पुलको निर्माण कार्य अलपत्र छ।
बेलहिया–बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाले १० वटा आकासे पुल निर्माणका लागि १२ करोड ४८ लाख ५२ हजार २ सय ४८ रुपैयाँ लागत लाग्ने अनुमान गर्दै ठेक्का आह्वान गरेको थियो। जसमा निर्माण कम्पनी महादेव खिम्तीले ११ करोड ११ लाख १५ हजार २ सय २५ रुपैयाँमा ठेक्का पाएको थियो। सन् २०१७ मार्च २९ मा आकासे पुल निर्माणको सम्झौता गरी २०१८ जुलाई २८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।
तर, ठेकेदार कम्पनीलाई दिइएको म्याद समाप्त भइसकेको छ। उसले निर्वाचन, बन्द लगायतको कारण देखाउँदै ८ महिना म्याद थपका लागि आयोजनाको कार्यालयमा निवदेन दिएको छ। म्याद समाप्त भइसक्दा समेत आकासे पुलको निर्माण कार्यमा अपेक्षा अनुसारको प्रगति नभएको बेलहिया–बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका इन्जिनियर योगन्द्र अधिकारी बताउँछन्।
ठेकेदार कम्पनीले कतै आकासे पुलको बिम मात्रै निर्माण गरेको छ भने कतै कामै सुरु गरेको छैन। काममा भएको ढिलाइ र लापरबाहीप्रति प्रश्न उठाउँदै आयोजनाले ठेकेदार कम्पनीलाई पटक–पटक पत्र काटेको छ।
बेलहिया–बुटवल ६ लेन व्यापारी मार्ग विस्तार आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले आकासे पुल निर्माणको म्याद सकिएकाले अब थपिने ६ महिनामा १० वटै पुलको निर्माण सकिने बताए।
उनले म्याद थपका लागि दिएको निवेदन कारबाही प्रक्रियामा रहेको बताउँदै थपिएको म्यादभित्र काम नकसे ठेकेदार कम्पनीलाई जरिवानासहित कारबाही गरिने बताए।
यता, महादेव खिम्ती एसियाटिक महेस जेभीका प्रतिनिधि मनोज खनालले अनुभवको कमीका कारण काममा ढिलाइ भएको बताए। उनले १० वटा पुल बजार क्षेत्रमा बनाउनु परेकाले पनि निर्माण सक्न ढिलाइ भएको जनाए। खनालले आगामी ६ महिनाभित्र निर्माण सक्ने दाबी गरेका छन्। उनले पुल निर्माणका लागि अप्ठ्यारा काम सकिएकाले अबको ६ महिनामा सबै काम सकिनेमा आफूहरु विश्वस्त रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।