पोखरा– पोस्टकार्ड वा फोटोहरुमा धेरै देखिन्छः फेवातालमा माछापुच्छ्रेको प्रतिविम्ब। धेरै स्वदेशी तथा विदेशी त्यही प्रतिविम्ब खोज्दै पोखरा आउँछन्। ड्यामसाइडको एकछेउँबाट मात्र देख्न सकिन्थ्यो– त्यो दृश्य। तर, प्रचारप्रसारको अभावमा धेरै पर्यटक फेवातालमा पोस्टकार्ड या फोेटोको जस्तै दृश्य नपाउँदा भने खिस्स पर्थे। त्यो स्थानबारे थाहा भइहाले पनि जान सक्ने अवस्था थिएन किनभने त्यो स्थान सर्वसाधारणका लागि खुल्ला थिएन।
क्षेत्रीय सिँचाइ कार्यालयको परिसरबाट मात्रै फेवातालमा माछापुच्छ्रेको प्रतिविम्ब देख्न सकिन्छ। अब सो स्थानमा पार्क बनाउने र सबै सर्वसाधारणका लागि खुल्ला गरी पर्यटक बढाउने महानगरले नीति लिएको छ। त्यति मात्रै नभएर त्यहाँ राष्ट्रिय झन्डा खडा गरेर फेवातालमा माछापुच्छ्रेसँगै नेपाली झन्डाको समेत प्रतिविम्ब देखाइने भएको छ।
पार्क बनाउन १ करोड रुपैयाँ रकम अनुमान गरिएको छ। जसमा प्रदेश सरकारको समेत आधा लगानी रहनेछ।
घाम दक्षिण भएका बेला फेवा तालमा सजिलै हिमाल र झन्डाको छाँया देख्न सकिने महानगरपालिकाका इन्जिनियर किसानसिंह गुरुङ बताउँछन्। ‘दिउँसो घाम र छाँयाको दिशा नमिल्ने भएकाले नदेखिन सक्छ तर दक्षिणतर्फ घाम गएका बेला सजिलै प्रतिविम्ब देखिन्छ,’ उनी भन्छन्। उनका अनुसार झन्डा ठड्याउँदा वातावरणलाई समेत कुनै असर पर्ने छैन।
फेवातालको किनारमा ठडिने सो झन्डाको उचाइ ८० फिट अर्थात् २४ मिटरको हुनेछ। झन्डालाई बलियोसँग राख्न कुन विधि प्रयोग गर्ने भन्नेबारे सल्लाह भइरहेको इन्जिनियर गुरुङले बताए। उनी भन्छन्, ‘सिलिकन कपडा प्रयोग गर्ने, बेयरिङ राखेर फर्फराउने वा स्थिर राख्ने भन्नेबारे छलफल चलिरहेको छ।’ गुरुङका अनुसार झन्डाका लागि स्टिलको खम्बा प्रयोग गरिनेछ।
झन्डा राख्दा वातावरणीय पर्यावरणमा समेत ध्यान दिइएको छ। कुनै रुख काटिने छैनन्, उल्टै जगेर्ना गरिनेछ। इन्जिनियर गुरुङले योजनाबारे भने, ‘रुखमै अडेस लागेर हिमाल र झन्डाको प्रतिविम्ब हेर्न मिल्छ, रुखको तल जरामै बसेर हेर्न मिल्नेगरी पार्क बनाउँछौं। यसो गर्दा रुख पनि जोगिन्छ र दृश्य पनि हेर्न मिल्छ।’
ड्यामसाइडमा पार्क बनाउने परिकल्पना भने महानगरको होइन, ड्यामसाइड क्लबको हो। क्लबको परिकल्पनालाई महानगरले सहयोग मात्रै गरेको हो। ड्यामसाइडमा पार्क बनाउने र झन्डा गाड्ने महानगरको योजनामा प्रदेश सरकारले समेत सहयोग गर्ने भएको छ।
‘सबै काम महानगरले गर्नेछ, प्रदेश सरकारले महानगरलाई ५० प्रतिशत खर्च बेहोर्ने गरी सहयोग गर्नेछ,’ प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले भने।
झन्डा राख्ने स्थान चयन र डिजाइनको नेतृत्व इन्जिनियर कमानसिंह गुरुङले लिएका छन्। जसको साजसज्जा सोफिया गुरुङको जिम्मामा छ। उक्त पार्क निर्माणको डिजाइन र स्टिमेट महानगरले पास गरी प्रदेश सरकारलाई बुझाइसकेको छ। ‘सबै काम योजना अनुरुप नै भयो भने ६ महिनामै काम सकिन्छ,’ इन्जिनियर गुरुङ भन्छन्।
पार्कमा मान्छे जान मिल्ने गरी पुल बनाइनेछ। पार्क र झन्डालाई सुरक्षित बनाउन ठूलो पर्खाल पनि लगाइनेछ। पार्कमा सिसाले बनेको ठूलो बहुउद्देशीय हलसमेत निर्माण गरिने गुरुङले बताए।
‘त्यहाँ खानेपानीको ठूलो ट्यांकीसहित सेफ्टी ट्यांकी पनि बनाइनेछ,’ उनी भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।