काठमाडौं– झन्डै एक दशकपछि नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनको तयारी अघि बढेको छ। सन्धि पुनरावलोकनको तयारी स्वरुप बुधबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा दुईपक्षीय वार्ता सुरु हुँदैछ।
सन् २००९ यता नेपाल–भारत वणिज्य सन्धिमा पुनरावलोकन हुन सकेको छैन।
भारतसँगको व्यापार घाटा चुलिँदै गएपछि सन्धि पुनरावलोकन गर्नुपर्ने माग नेपालले उठाउँदै आएको थियो।
सन्धि पुनरावलोकनको छलफलका लागि बुधबार भारतमा दुईपक्षीय वार्ता सुरु हुँदैछ। उक्त वार्तामा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव रविशंकर शैंजुको नेतृत्वमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायतका प्रतिनिधिसहित ८ सदस्यीय टोली भारत प्रस्तान गर्दैछ।
वाणिज्य मन्त्रालयका सहसचिव शैंजुका अनुसार छलफलमा भारतसँग बर्सेनि ठूलो दरमा बढ्दै गएको व्यापार घाटा मुख्य एजेन्डाका रुपमा प्रस्तुत गरिनेछ।
‘व्यापार घाटा कम गर्न सन्धिमा के परिमार्जन गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गर्नेछौं,’ उनले भने। बुधवारदेखि चल्ने सह–सहसचिव स्तरीय बैठकले वाणिज्य सन्धि पुनरावलोकनको प्रारम्भिक विषयहरूमा सहमति कायम गर्ने उनले बताए।
त्यस्तै, छलफलमा नेपालमा लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा पनि विषय उठान गर्ने तयारी सरकारको छ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारको करिब २ तिहाइ हिस्सा भारतले ओगट्छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७४÷७५ मा ८ खर्ब १० अर्ब रुपैयाँ मूल्य बराबरका वस्तु नेपालले भारतबाट आयात गरेको छ। विभागका अनुसार गत आर्थिक वर्षमा भारतसँगको व्यापार घाटा ७ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ।
गत १६ वैशाखमा नेपालमा सम्पन्न नेपाल–भारत अन्तरसरकारी समिति (आइजिसी) ले वणिज्य सन्धि पुनरावलोकन गर्ने सहमति गरेको थियो। वणिज्य सन्धि पुनरावलोकन गर्ने सम्बन्धमा दुईपक्षीय सहमति जुटेपछि छलफल अघि बढाइएको हो।
‘आगामी २–३ महिनामा सन्धि परिमार्जन गर्ने तयारी छ,’ मन्त्रालयका सह–सचिव शैंजुले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।