रसुवा– नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नजिकै बाढीले क्षति पुर्याएको पुलको मर्मत कार्य सुरु भएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेस्थित घट्टेखोलामा बाढीले क्षति पुर्याएको पक्की पुलको सोमबारदेखि मर्मतको कार्य सुरु भएको हो।
पुल मर्मतका लागि आवश्यक पर्ने गिट्टी, बालुवा, सिमेन्ट, रड, जाली र फर्मा तयार पारिएसँगै पुल मर्मतको कार्य सुरु भएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले बताए। ‘पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको तिरतिरे भीरमा पहिरो गएपछि निर्माण सामग्री आयात गर्न सकिएको थिएन। जसले गर्दा निर्माण सामाग्री आपूर्ति हुनै ढिलाई भयो।,’ उनले भने, ‘एक साताको बीचमा निर्माण सामाग्री सबै आइपुगेको छ। त्यसलगत्तै निर्माणको कार्य सुरु भएको हो।’
दश दिनअघि अविरल वर्षासँगै आएको बाढीले पुलको पिल्लरको दुबै तर्फको भागमा क्षति पुर्याएको थियो। पिल्लर कमजोर भएपछि सवारी सञ्चालन गर्दा उच्च जोखिम भएकाले विगत १० दिनदेखि साना तथा ठूला सवारी सञ्चालनमा रोक लगाइएको छ। सवारी आवतजावतमा रोक लगाएसँगै नेपाल तथा चीनतर्फ २ सयभन्दा बढी कन्टेनर रोकिएर बसेको प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताए।
उक्त पुल चिनियाँ पक्षले निर्माण गरेको हो। सडक विभागका अनुसार निर्माणका क्रममा तयार पारिएको ‘इस्टक्चर ड्रोइङ डिजाइन’मा जमिनभन्दा २४ मिटर तलको ‘बेस’मा ढलान गरेको भेटिएको हुदाँ ‘सपोर्ट वाल’ लगाएर मर्मतको काम सुरु गरिने डिभिजन प्रमुख निरज शाक्यले जानकारी दिए। उनले भने, ‘भासिएको ठाउँमा ढुङ्गा हालेर ढलान गर्छौं र तलैदेखि वाल लगाएर मर्मतको काम गर्नेछौँ।’
रसुवागढी नाकामा साउनभर यातायात ठप्प
योसँगै चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा साउन महिनाभर सवारी साधन सञ्चालन नहुने भएको छ। बाढीले क्षति पुर्याएको पुलको मर्मतमा ढिलाई हुँदा यो महिना सवारी सञ्चालन हुने सम्भावना टरेको हो। पुलको दुबैतर्फको पिल्लरको भागमा टेवा पर्खाल तथा पिल्लर राख्न करिब १५ दिन लाग्ने भएको हुदाँ यो महिना नाकामा सवारी आवतजावत नहुने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ।
सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट आयात निर्यात हुँदै आएको थियो। यसका अलावा रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि यस नाकामा चहलपहलसमेत बढेको देखिन्छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्।
चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै नाकामा व्यापारिक तथा सवारीसाधनको चहलपहल बढेको हो। चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पाटपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ भने नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरा लगायतका सामग्री निर्यात हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।