काठमाडौं- देशका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा गत आर्थिक वर्षमा ६ लाख ९९ हजार ५ सय ५२ पर्यटकले भ्रमण गरेका छन्।
भ्रमण गर्नेमध्ये सार्कका ६९ हजार ९ सय ३५ सहित विदेशी ३ लाख २५ हजार ८ सय ५६ र स्वदेशी ३ लाख ३ हजार ७ सय ६१ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
नेपालका १ सय १८ पारिस्थितिकीय प्रणालीमध्ये हालसम्म ८० किसिमका संरक्षित क्षेत्रमा पर्छन्। संरक्षित क्षेत्रमा पर्यटकको भ्रमणबाट सो अवधिमा ६४ करोड ६४ लाख ७२ हजार ९ सय ९२ रुपैयाँ राजश्व आम्दानी भएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जनाए।
विभागले संरक्षित क्षेत्रमा पर्यटक प्रवेश र वृत्तचित्र निर्माण शुल्कलगायत शीर्षकमा राजश्व सकंलन गर्छ। आव २०७३/७४ मा ती क्षेत्रमा ६ लाख ४ हजार ९१ स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका थिए। त्यसबाट ५५ करोड २७ लाख ३६ हजार ५ सय ३ रुपैयाँ राजश्व संकलन भएको थियो। सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जबाट २० करोड १५ लाख ८ हजार ६ सय ८१ रुपैयाँ राजश्व आम्दानी भएको छ। सबैभन्दा बढी २ लाख ५ हजार ७ सय ४७ पर्यटकले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमण गरेको देखिन्छ।
राष्ट्रिय वनस्पति उद्यानमा आव ०७३/७४ मा जम्मा ३ लाख ८२ हजार ४ सय ३६ आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरे। त्यसबाट १ करोड ४१ लाख ७० हजार राजश्व आम्दानी भएको विभागले जनाएको छ।
पारिस्थितिकीय प्रणालीअनुरुप वंशाणुस्रोत र जैविक विविधताको संरक्षणमा नेपाल अग्रणी मुलुक हो। मुलुकको कूल भूभागमध्ये २३ दशमलब ३९ प्रतिशत भाग संरक्षित क्षेत्र अवधारणा अनुरुप राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, मध्यवर्ती क्षेत्र र संरक्षण क्षेत्रजस्ता ढाँचामा व्यवस्थापन गरिएका छन्।
हालसम्म चितवन, बर्दिया, सगरमाथा, रारा, शे–फोक्सुण्डो, लाङटाङ, मकालु बरुण, खप्तड, शिवपुरी नागार्जुन, बाँके, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्ज स्थापना भएका छन्। कोशी टप्पु वन्यजन्तु आरक्ष, ढोरपाटन शिकार आरक्ष, तथा अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गा, अपिनाम्पा, गौरीशङ्कर र कृष्णसार संरक्षण क्षेत्र स्थापना भइसकेको सूचना अधिकारी रुपाखेतीले जनाए।
मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले संरक्षित क्षेत्रमा पर्यावरणीय सन्तुलन कायम गर्दै पर्यटन प्रवर्धननलाई प्रोत्साहन गर्ने नीति र योजना मन्त्रालयले अघि बढाएको बताएका छन्।
नेपालमा करीब ६ हजार खोला र नदीनाला, ६ सय ६० तालतलैया र २ सय ४२ ठूला तथा मझौला सीमसार क्षेत्र छन्। २ सय ४२ सीमसार क्षेत्रमध्ये १० रामसार सूचीमा सूचीकृत छन्। प्राकृतिक सम्पदाको संरक्षण गर्ने काममा नेपालले दक्षिण एशियामा विशिष्ट स्थान हासिल गरेको छ।
मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दालाई आवश्यक पर्ने वन पैदावारको नियमित आपूर्तिलगायत संरक्षित क्षेत्रले आर्जन गरेको आम्दानीको ३० देखि ५० प्रतिशतसम्म प्राकृतिक स्रोतको संरक्षण, आयआर्जन, संरक्षण शिक्षा र सामुदायिक विकासका लागिसमेत खर्च गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।