काठमाडौं– आन्तरिक उत्पादन कमजोर बन्दै जाँदा वस्तु आयातले राष्ट्रिय बजेटकै आकार भेटेको छ। भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष (आव) ०७४/७५ मा नेपालले १२ खर्ब ४३ अर्ब रुपैयाँ मूल्य बराबरको वस्तु आयात गरेको छ।
यो उक्त आवको झन्डै राष्ट्रिय बजेटको आकार बराबर हो। गत आवमा सरकारले १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो। तर, खर्च भएको रकम जोड्ने हो भने गत आवको राष्ट्रिय बजेट खर्चभन्दा ठूलो आकारमा वस्तु आयात भएको छ। गत आवमा करिब पौने ११ खर्ब रुपैयाँ बजेट खर्च भएको महालेखा नियन्त्रकको तथ्यांक छ।
विगत १० वर्षको अवधिमा नेपालको आयात साढे ५ गुणाभन्दा बढीले वृद्धि भएको विभागको तथ्यांकले देखाउँछ। ०६४/६५ मा नेपालले २ खर्ब १९ अर्ब रुपैयाँ मूल्य बराबरको वस्तु आयात गरेको थियो।
बढ्न सकेन निर्यात
आयात वृद्धिदर उच्च रहे पनि सोही अनुपातमा निर्यात भने बढ्न सकेको छैन। आव ०६४/६५ मा नेपालले ५८ अर्ब ५३ करोड रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात गरेको थियो। १० वर्षपछि गत आवमा नेपालको निर्यात ८१ अर्ब १९ करोड रुपैयाँ मूल्य बराबरमै सीमित छ।
उच्च व्यापार घाटा
आयात अत्यधिक हुँदा र त्यसको अनुपातमा निर्यात वृद्धि नहुँदा पछिल्ला वर्षमा व्यापार घाटा अकासिएको छ। विभागको तथ्यांक अनुसार गत आवमा नेपालको व्यापार घाटा ११ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ।
जबकि १० वर्षअघि नेपालको व्यापार घाटा १ खर्ब ६१ अर्ब रुपैयाँ मात्र थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।