काठमाडौं– रोजगार अनुमति प्रणाली(एपिएस)मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई टिकट २३ प्रतिशतले सस्तो भएको छ।
हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि आगामी आइतबारदेखि कोरिया जाने कामदारको हवाइ भाडामा १२ हजार ९ सय ८० रुपैयाँका दरले घटेको वैदेशिक रोजगार विभागको इपीएस शाखाले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
नेपालबाट रोजगारीका लागि कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाइ भाडा ५ सय ३० अमेरिकी डलर तिर्नु पथ्र्यो। अब ४ सय ११ अमेरिकी डलर (४५ हजार २ सय ९२ रुपैयाँ) मात्रै हवाई भाडा तिर्नुपर्ने शाखाले जनाएको छ। कोरिया जाने कामदारको हवाई टिकटमा १ सय १९ डलर घटेका हो।
हवाई भाडा घटेसँगै कामदारको वार्षिक १० करोड रुपैयाँ खर्च जोगिने शाखा निर्देशक कृष्ण खनालले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए। घटेको भाडादरमा सिलिम्स ट्राल्भस् प्रालिमार्फत कामदार पठाइने खनालले जानकारी दिए।
सन् २००८ देखि ईपीएस प्रणाली लागू भएपछि नेपाली कामदारले ५ सय ४१ अमेरिकी डलर भाडावापत सम्बन्धीत ट्राभल एजेन्सीलाई बुझाउने गरेका थिए।
२०७३ पुसदेखि भने कामदारले ५ सय २९ डलर अर्थात ५८ हजार २ सय ७२ रुपैयाँ हवाई भाडा बुझाएर कोरिया जादै थिए।इपीएस भाषा परिक्षामार्फत बार्षिक ८ हजारको हाराहारीमा नेपाली युवा कोरिया रोजगारीका लागि जाने गरेको छन्।
स्वास्थ्य परिक्षण भदौ ४ देखि
सन् २०१९ मा कोरिया जान कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका परिक्षार्थीका स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट सुरु गर्ने शाखाले जानकारी दिएको छ। उनीहरुको स्वास्थ्य परीक्षण राजधानीका ४ वटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको छ।
शुक्रराज ट्रपिकल अस्पताल टेकु, निजामती अस्पताल बानेश्वर, नेपाल कोरियामैत्री अस्पताल र पाटन अस्पतालबाट स्वास्थ्य परीक्षण गराइने शाखाले जानकारी दिएको छ।
सन् २०१९का लागि ७ हजार ९ सय ९६ जना इपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका छन्।
स्वास्थ्य परीक्षणमा सफल भएका र समयमा प्रहरी रिपोर्ट आएकाहरुले भदौ ८ गतेबाट रोजगार आवेदन फारम भर्न पाउनेछन्। फारम भर्ने समय ८ दिन दिइको छ।
आवेदन फारम भरेका कामदारहरुको नाम कोरियाको मानव संशाधन विभागले प्रमाणित गरेपछि रोष्टरमा चढाएर कामदार लिने प्रक्रिया सुरु हुन्छ।
रोष्टरमा नाम चढेका कामदारको श्रम सम्झौताका लागि कोरियाका रोजगारदाता कम्पनीले आहवान गर्ने शाखाले बताएको छ।
आगामी जनवरीबाट मात्रै यो वर्ष कोरियन भाषा उत्तीर्ण गरेका कामदारले जान पाउने शाखाले जानकारी दिएको छ।
गत वर्ष पास भएका १२ हजार ५ सयमध्ये हालसम्म ५ हजार ५ सय जना कोरिया पुगिसकेका छन्। अन्य करिब ६ हजार ५ जना लेबर कन्ट्रयाक्टको प्रतिक्षामा रहेको शाखाले जानकारी दिएको छ।
सन २००८ यता इपीएस भाषा परिक्षामार्फत ५४ हजार ३ सय ३६ जना युवा रोजगारीका लागि कोरिया पुगिसकेका छन्। कोरिया सरकारले इपीएस भाषा परिक्षामार्फत १४ देशबाट कामदार लिदै आएका छन्।
सीबीटी परीक्षाबाट भाषा उत्तीर्ण गरेका ४ सय कामदार पठाउने तयारी
शाखाले ईपीएसकै सीबीटी परीक्षाका लागि आवेदन लिएको छ। कोरियामा ३ वर्ष रोजगारी गरेर फर्किएका कामदारले कम्प्युटरका माध्यमबाट कोरियन भाषा परिक्षामा सहभागी हुने पाउँछन्।
सिविटिका लागि ३ हजारभन्दा धेरै आवेदन दिएको शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए ।
जसमा ४ सय जना सिविटि परिक्षामा उत्तीर्ण भएको उनको भनाई छ। उत्तीर्ण भएका परिक्षार्थीलाई कोरिया पठाउने तयारी भइरहेको भण्डारी बताउँछन्।
सीबीटी परीक्षा पास गरेकाले फेरि कोरियमा रोजगारीका लागि अवसर पाउने गरेका छन्।
कोरियामा रोजगारीबाट फर्किएर सिविटि परिक्षामा सहभागि भइ उत्तीर्ण गरेका कामदारलाई सिर्धै रोजगारदाता कम्पनीले माग गर्ने सक्ने शाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।