एकदिवसीय खेल खेल्ने मेरो मात्र होइन सबैको सपना थियो। मेरै प्रशिक्षकमा एकदिवसीय खेल हुन्छ भन्ने सोचेको पनि थिइन। एदिवसीय खेल खेल्ने यात्रामा सबै विदेशी र नेपाली प्रशिक्षकको योगदान छ। धेरै वर्षदेखि खेलिरहेका खेलाडीहरुको सबैभन्दा ठूलो योगदान छ। सन् १९९६ देखि खेलेका खेलेका खेलाडी र प्रशिक्षक सबैको मेहनत छ।
नेदरल्यान्ड्स विरुद्धको पहिलो एकदिवसीय सिरिज समग्रमा राम्रो भयो। हामीले सोचेको र गरेको मेहनत मैदानमा देखाएका छौं। पहिलो खेलमा हामीले बलिङमा र फिल्डिङमा राम्रो गरेका थियौं। ब्याटिङमा सुरुवात राम्रो गरेपनि मिडल अर्डर चल्न सकेन। जसले गर्दा हामी पहिलो खेलमा पराजित भयौं।
दोस्रो खेलमा हामीले राम्रो ब्याटिङ गर्न सफल भयौं। २ सय भन्दा माथि रन बनाएपछि जित्ने आसा थियो। विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेता नेदरल्यान्ड्सलाई २ वर्षअघि त्यही मैदानमा हराएका पनि थियौं। त्यसलै पनि हामीले फेरि जित निकाल्न सक्छौं भन्ने विश्वास थियो। अर्कोतर्फ टिमको फिल्डिङ र बलिङमा हामीले अन्तर्राष्ट्रियस्तरको प्रदर्शन गरेका थियौं। यस्तै एक्पोजर पायौं भने अझ माथि पुग्छौं।
मेरो प्रशिक्षकमा नेपालले एकदिवसीय खेल खेलेर इतिहास बनायो। यसमा मलाई धेरै खुसी लागेको छ। अन्तर्राष्ट्रिय खेल खेलाउने पहिलो नेपाली प्रशिक्षक र पहिलो जित हात पार्न रणनीति बनाउने प्रशिक्षकको इतिहास बनाउन खुसी छु। समर्थन र साथ सबैलाई धन्यवाद दिन चाहन्छु।
अब हामीले एसिया कप छनोट खेल्दैछौं। भर्खर लर्ड्स र नेदरल्यान्ड्समा खेलेर आएका छौं। अनुभव बटुलेका छौं। यसले तयारीलाई सहयोग गरेका छ। राम्रो खेलेर छनोट भयौं भने भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछौं। राम्रो क्रिकेट खेलेर ६ मध्ये उत्कृष्ट हुने हाम्रो कोशिस हुनेछ। भारत र पाकिस्तानसँग खेल्ने खेलाडीको पनि सपना छ। सबैले त्यहीअनुसार मेहनत पनि गरिहेका छन्।
अब हामी २–४ दिन रेस्ट गरेर फेरि क्याम्प सुरु गर्नेछौं। अभ्यासका लागि श्रीलंका जान हामीले आइसिसीलाई प्रस्ताव पठाइसकेका छौं। केही दिनमै टुंगो लाग्नेछ। हामीले ब्याटिङ प्रशिक्षक ल्याउने पनि कुरा गरेका थियौं। आइसिसीले अहिलेसम्म पक्का गरेको छैन। हामी ब्याटिङ कोच ल्याउन पनि प्रयास गर्नेछौं।
हामीलाई भारत र पाकिस्तानसँग खेल्नका लागि अझै एक्पोजरको खाँचो छ। यस्तै खेलहरु खेलिरह्यौ भने माथिल्लो स्तरको प्रदर्शन गर्न सक्छौं। किनभने हाम्रा खेलाडीमा क्षमता छ। जरुरत एक्सपोजरको मात्र छ। यस्तै खेलिरह्यौ भने ८–१० वर्ष भित्रमा टेस्ट खेल्न सक्छौं।
हाम्रो लागि एसिया कप खेल्ने मौका पनि छ। पछिल्ला खेलमा खेलाडीमा देखिएको जोश र सन्तुलन राम्रो छ। युवा खेलाडी र सिनियरको कम्बिनेसन मिलेको छ। जसले टिम राम्रो बनेको छ। सबैमा खेल जित्ने भोक छ। खेलाडीले आफू र टिममा विश्वास गरेकाले हामीले जितिरहेका छौं।
नेदरल्यान्ड्सले नेपालमा आएर सिरिज खेल्ने इच्छा देखाएको छ। विशेषगरी डच म्यानेजरले नेपालमा आउने इच्छा व्यक्त गरेका हुन्। यसमा हामी भन्दा पनि आइसिसीको भूमिका हुन्छ। हामीले खेल्छौं भन्ने मात्र हो। हामीले आइसिसका मान्छेलाई भन्दा कसले जिम्मेवारी लिने भन्ने कुरा भएको छ। क्रिकेट संघ नभएको अवस्थामा अलि गाह्रो हुन्छ। ४–५ महिनामा क्रिकेट संघ हामीले पायौं भने अवश्य पनि हामीले नेदरल्यान्ड्ससँग घरमै खेल्न पाउँछौं।
प्रशिक्षक टमाटाले नेदरल्यान्ड्सबाट स्वदेश फर्केपछि पत्रकारलाई दिएको प्रतिक्रियामा आधारित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।