काठमाडौं– नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ। नेपाली टिमलाई समर्थकहरुले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
त्रिभुवन विमानस्थलमा पत्रकारहरुमा नेपाली क्रिकेटका कप्तान पारस खड्काले नेदरल्यान्ड्ससँको एक दिवसीय क्रिकेट सिरिसमा नेपालको प्रदर्शन राम्रो रहेको प्रतिक्रिया दिए। उनले पहिलो खेल ब्याटिङमा देखिएको कमजोरीले गुमाए पनि नेपालले तुलनात्मक रुपमा राम्रो खेल पस्किएको बताए।
पारसले नेपाली क्रिकेटको आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले भने, 'हामीसामु एसिया कपको अर्को ठूलो अवसर छ।'
एसिसी एसिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ सम्म मलेसियामा हुँदैछ।
छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ। ६ टिममध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा छनोट हुनेछ। नेपाल र युइई एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन्। त्यसैले नेपाल र युएईबीचको खेल एकदिवसीय हुनेछ।
नेपाली टिम इंग्ल्यान्डको लर्ड्समा त्रिकोणात्मक टी–२० सिरिज र नेदरल्यान्ड्समा २ खेलको एकदिवसीय सिरिज खेलेर स्वदेश फर्किएको हो। टी–२० सिरिजमा नेपालले एमसिसीलाई हराएको थियो भने नेदरल्यान्ड्स विरुद्धको दोस्रो खेल वर्षाले अबरुद्ध बनेको थियो। एकदिवसीय सिरिजमा पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।