काठमाडौं– वैदेशिक रोजगार विभागले लाइसेन्स नवीकरण नगरी बसेका अथवा दर्ता गरी तीन वर्षसम्म सञ्चालन नभएका २ सय ५३ वटा मेनपावर कम्पनी खारेज गर्ने भएको छ।
सरकारले दिएको समय सीमाभित्र कम्पनी नवीकरण नगरेका र कम्पनी दर्ता गरेर तीन वर्षसम्म वैदेशिक रोजगारीमा कामदार पठाउन नसकेका मेनपावर कम्पनी खोरज गर्न लागेको विभागले जनाएको छ।
विभागबाट लाइसेन्स लिएर वैदेशिक रोजगारमा कामदार नपठाउने र नवीकरण पनि नगरेका मेनपावरको लाइसेन्स खारेजीको प्रक्रिया सुरु गरिएको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले जानकारी दिए।
केही कम्पनी भने ऐन नियमावली अनुसार नियमित नभएका वा समयमा नीवकरण नगरेका कारण पनि इजाजत खारेजीको अवस्थामा पुगेको प्रवक्ता रिजालको भनाइ छ।
भदौ महिनाभित्र ५८ वटा मेनपावर कम्पनीले लाइसेन्स नवीकरण नगरे ती मेनपावर पनि खारेजीमा पर्ने उनले बताए।
७ लाख रुपैयाँ नगद र २३ लाख रुपैयाँ बराबर बैंक ग्यारेन्टी धरौटीमा राखेपछि मात्र विभागले मेनपावर सञ्चालन गर्ने लाइसेन्स जारी गर्छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो धरौटी बढाएर ५ करोडभन्दा माथि पुर्याउने तयारी समेत गरेको छ।
वैदेशिक रोजगार ऐन, २०६४ मा वैदेशिक रोजगारीमा कामदार पठाउने मेनपावर कम्पनीले वार्षिक अथवा एकै पटक ३ वर्षका लागि लाइसेन्स नवीकरण गर्ने कानुनी व्यवस्था छ। तर, मेनपावरले वार्षिक अथवा ३ वर्षभित्र लाइसेन्स नवीकरण नगरे खारेज गर्ने अधिकार विभागलाई छ।
विभागले ३ वर्षको समयावधि सकिएका मेनपावरलाई ३ पटकसम्म सूचना जारी गरेर जरिवानासहित लाइसेन्स नवीकरण गर्ने मौका दिन्छ। विभागले दिएको मौकाभित्र पनि लाइसेन्स नवीकरण नगराउने मेनपावरको लाइसेन्स खारेजीका लागि विभागले सिफारिस गर्ने गरेको छ।
लाइसेन्स खारेजीमा परेका मेनपावरले कानुनी उपचारका लागि अदालत जान पाउने व्यवस्था ऐनमा छैन। त्यस्ता मेनपावर स्वतः खारेजीमा पर्ने गरेको विभागले जानकारी दिएको छ।
वैदेशिक रोजगार विभागले रोजगारीका क्रममा कामदारलाई समस्यामा पार्ने, कामदारसँग सरकारले तोकेभन्दा बढी रकम असुल्ने र कानुनको उल्लंघन गर्ने १ सय ९७ वटा मेनपावर कम्पनीको लाइसेन्स खारेजी गरिसकेको जनाएको छ।
हाल, विभागमा १ हजार ५ सय ७८ वटा मेनपावर कम्पनी दर्ता छन्। जसमा ८ सय जति मेनपावर कम्पनीले मात्र वैदेशिक रोजगारीमा कामदार पठाउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।