काठमाडौं– शुक्रबार केपी शर्मा ओलीले तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार गर्दा स्वास्थ्य राज्यमन्त्रीका रुपमा डा सुरेन्द्र यादवको नाम पनि पर्यो। विस्तारित मन्त्रिपरिषदमा समावेश हुनु उनको पार्टी संघीय समाजवादी फोरमका अन्य नेतालाई जति आश्चर्यको विषय थियो, त्यति नै डा यादवका लागि पनि।
मन्त्रिमण्डल विस्तार हुनु तीन घन्टा अघिसम्म डा यादव आफ्नै निर्वाचन क्षेत्र महोत्तरी क्षेत्र नं ४ का जनताका गुनासा सुनिरहेका थिए। उनलाई उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले फोन गरेर भने, ‘तपाईं तुरुन्तै काठमाडौं जानुपर्ने भयो।’ डा यादवले ‘के परेछ’ भन्ने सोच्न नपाउँदै मन्त्री यादवले खुलाए, ‘स्वास्थ्य राज्यमन्त्रीका रुपमा पार्टीले तपाईंलाई सिफारिस गरेको छ। आजै सपथ ग्रहण हुन्छ। काठमाडौं जानुपर्यो।’
उनी काठमाडौं वेगिए र सिधै सपथ ग्रहणस्थल पुगे।
संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनी ‘कान्छा’ नेता हुन्, अर्थात् यो पार्टीसँग सबैभन्दा पछि जोडिएका व्यक्ति। उनी आफैं आफूलाई फोरमको ‘कान्छो’ नेताका रुपमा चित्रित गर्छन्।
संघीय संसदको चुनाव हुनु दुई महिनाअघिसम्म उनी उम्मदेवार बन्ने टुंगो लागिसकेको थिएन। टुंगो लागोस् पनि कसरी? उनी नै टिकट दिने पार्टी फोरमका सदस्य थिएनन्। त्यो समय उनी डा बाबुराम भट्टराई अध्यक्ष रहेको नयाँशक्ति पार्टीका दुई नम्बर प्रदेश संयोजक थिए।
डा भट्टराईले प्रेरित गरेपछि जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा बिरामी जाँच्दाजाँच्दै उनी राजनीतिमा होमिएका थिए। ‘त्यो बेला डा भट्टराई सिके राउत र वर्तमान प्रधानमन्त्री केपी ओली प्रवृत्तिको खूब विरोध गर्नुहुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘उहाँहरुलाई विखण्डनकारीको संज्ञा दिनुहुन्थ्यो, भट्टराई। वैकल्पिक राजनीतिको वकालत गर्नुहुन्थ्यो।’
डा भट्टराई वैकल्पिक राजनीतिमा सम्भावना देख्थे डा यादव। उनलाई सामाजिक विभाजन ल्याउने राउत र त्यो समय तराईप्रति असहिष्णु ओलीलाई हेर्ने भट्टराईको वक्र दृष्टि पनि सत्य लाग्थ्यो।
चुनावको केही समयअघि डा यादव जस्ता नेता कार्यकर्तासँग सल्लाह नै नगरी डा भट्टराई ओली र पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर चुनाव लड्न राजी भए। (समयक्रममा भट्टराई नेतृत्वको नयाँ शक्ति एक्लै चुनाव लड्ने परिस्थिति बन्यो, त्यो बेग्लै कुरा हो)। तर, त्यहीबेला डा यादवलाई लाग्योे– डा भट्टराईको बोली र व्यवहार एउटै रहेनछ।
जसलाई गाली गरिरहन्थे, उनैसँग मिल्न जाँदा समेत आफ्ना नेता तथा कार्यकर्तालाई एक वचन नसोध्ने डा भट्टराईप्रति डा यादवको मोहभंग भयो। मन कुँडियो। त्यही पार्टीमा बसेर राजनीति गर्न उनको मनले मानेन।
त्यहीबेला संघीय समाजवादी फोरमले हरियो झण्डा देखायो। फोरमका अध्यक्ष यादवको कार्यशैली उनले त्यसअघिदेखि नै नजिकबाट नियालिरहेका थिए। नयाँशक्तिबाट निस्किन खोजिरहेका उनलाई सहज भयो।
चुनाव नजिकिरहेको थियो। हरेक क्षेत्रमा जित्ने उम्मेदवार उठाउनुपथ्र्यो नै। संविधानको विपक्षमा लामो संघर्ष गरेको फोरमका लागि बढीभन्दा बढी क्षेत्रमा जित्नु झनै अपरिहार्य थियो।
महोत्तरी ४ मा उनीभन्दा बलियो उम्मेदवार अर्को हुँदैनथ्यो। पार्टी प्रवेश गरेको केही दिनमै फोरमले क्षेत्र नं ४ को उम्मेदवार बनायो। त्यो बेला पनि हल्ला चल्यो– पार्टी प्रवेश गरेको केही दिनमै टिकट पाए डा यादवले भनेर।
डा यादवले टिकट मात्रै पाएनन्, निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र यादवलाई पाँच हजारभन्दा फराकिलो मतान्तरले हराइदिए।
चुनावको संघारमा पार्टी प्रवेश गरेर टिकट पाउनुभन्दा चकित पार्ने घटना हुँदै हो। तर पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूले सम्हालेको मन्त्रालयमा राज्यमन्त्री बनाएपछि झन् बढी चकित भएका छन् डा यादव।
डा यादवको राजनीतिक उपलब्धिको वेग अरुलाई मात्र होइन, आफैंलाई पनि चकित पार्ने खालको छ। शुक्रवार राज्य मन्त्रीका रुपमा सपथ ग्रहण गरेका उनी शनिबार दिनभरि पेप्सिकोलास्थित निवासमै बधाई ग्रहण गरिरहेका थिए। सँगसँगै आफ्नो राजनीतिक यात्राको हिसाबकिताब पनि।
सबै लेखाजोखा गरी हेर्दा राजनीतिमा आफ्नो वेग तिब्र नै भएको महसुस हुन्छ, उनलाई। भन्छन्, ‘सन् २०२० बाट राजनीतिक यात्रा थाल्ने योजना थियो।’
कुनैदिन राजनीतिमा आउने योजना बनाएरै काम गरिरहेका उनी त्यहीअनुसार अघि बढिरहेका थिए। जलेश्वरमा जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटल चलाइरहेका उनी तीन वटै सन्तानलाई चिकित्सा पढाइरहेका छन्। सन् २०२० सम्म सबैको पढाइ सकिएपछि राजनीतिमा आउने उनको योजना थियो।
तर समयले सबै कुरा छिटोछिटो उनको भागमा पारिदिँदै गयो।
सन् १९९३ मा किर्गिस्तान पुगेर एमबिबिएस गरेका उनले कोशी अञ्चल अस्पताल, वीर अस्पताल, जानकी मेडिकल कलेजमा उपचार सेवा दिएपछि २०६३ सालमा आफ्नै अस्पताल खोलेका हुन्। पोष्टग्य्राजुएट हस्पिटल म्यानेजमेन्ट गरेका उनले १५ बेडबाट सुरु गरेको अस्पताल अहिले १०० बेडको छ।
क्लिनिकल सेवामा व्यस्त डाक्टरको राजनीतिक यात्राको जग भने मधेस आन्दोलनले बसाइदिएको हो। ‘मधेशमा आन्दोलन चर्किन थालेपछि रिक्सा चलाएर जिविकोपार्जन गर्ने, निम्नवर्गीय किसान भोकभोकै मर्न थाले,’ उनी सम्झिन्छन्, ‘उनीहरुका लागि खाद्यान्न संकलन गरेर वितरण गर्नुपर्ने भयो। त्यसको नेतृत्व मैले लिएँ।’
महोत्तरी, सिराहा, सर्लाही र धनुषाका लागि खाद्यान्न संकलन गरेर उनले वितरण गरे। त्यो क्षेत्रमा भएका घाइतेहरुको आफ्नो निजी अस्पतालमा निशुल्क उपचार गरिदिए। महोत्तरीमा साहदत ७ र धनुषाका ३ जनाको परिवारको उपचार आफ्नो निजी अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाए। यसले उनको छबी एकैपल्ट उठाइदियो र जलेश्वर वरपर मात्रै सिमित उनको चर्चा दुई नम्बर प्रदेशभरि फैलियो। उनी सम्झिन्छन्, ‘त्यो समय राजनीतिक नेताहरुको सोचप्रति त्यति सन्तुष्ट चाहिँ थिइनँ।’
राजनीतिमा रुची भने उनको सानैदेखि थियो। उनका बुवा रामदयाल यादव प्रधानपञ्चदेखि जिल्ला सभापतिसम्म भएका थिए। पञ्चायत विरोधी आन्दोलनमा उनी विद्यार्थीकालमै सक्रिय भएका थिए। बहुदल आएपछि पनि उनले नेपाल कम्युनिस्ट पार्टी मानन्धर समूहको सक्रिय कार्यकर्ता भए। तर, यही समय एमबिबिएस अध्ययनका लागि किर्गिस्तान जानुपरेपछि राजनीतिलाई निरन्तरता दिन सकेनन्।
उनी भन्छन्, ‘एमबिबिएस पढेर आएपछि क्लिनिकल काममै व्यस्त भएँ। समयले फेरि राजनीतिमै ल्यायो।’
आफैं उपचार सेवामा सक्रिय भएका कारण स्वास्थ्य क्षेत्रलाई उनले नजिकबाट नियालेका छन्। मन्त्री यादवले आफूलाई राज्यमन्त्रीका रुपमा रोज्नुको कारण पनि यही होला जस्तो लाग्छ उनलाई। भन्छन्, ‘यो पार्टीको म कान्छो नेता हुँ। ‘सही मान्छे, सही ठाउँ’ भन्ने मान्यताले मलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको होला। म मेरातर्फबाट सही काम गर्ने प्रयत्न गर्नेछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।