कोरियामा लाख कमाउन सकिन्छ तर लाख दुःख भोगेर

Nepal Live

नेपाल र कोरिया सरकारबीच सन् २००७ मा दुई पक्षीय श्रम सम्झौता भयो। सन् २००८ बाट  रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर नेपालीहरु रोजगारीको लागि कोरिया जाने क्रम सुरु भयो। कम खर्चमा तुलनात्मक रुपमा बढी आर्जन हुने भएकाले कोरिया पछिल्लो समय युवापुस्ताहरुको आकर्षक रोजगार गन्तव्य बनिरहेको छ।

बर्सेनी हजारौंको संख्यामा शिक्षित युवाहरू कोरियाको सपना बोकी भाषा परीक्षाको लागि आवेदन दिइरहेका छन्। उनीहरुको लागि विद्वविद्यालको डिग्रीभन्दा कोरियाको भिजा बढी महत्त्वपूर्ण भएको छ। पछिल्लो दस बर्षमै करिब ४० हजारभन्दा बढी नेपाली युवाहरू कोरिया पुगिसकेका छन्।

रोजगारीका लागि नेपाली युवाहरु बढेसँगै कोरियामा डरलाग्दो गरी आत्महत्या, औद्योगिक दुर्घटना, सुतेकै अवस्थामा मृत्युका घटनाहरु बढिरहेका छन्। डिप्रेसन तथा अन्य शारीरिक तथा मानसिक रोगीको संख्या पनि बढ्दै गएको छ।

इपिएस कोरिया शाखाका अनुसार औसतमा प्रत्येक वर्ष ९ जनाले ज्यान गुमाउने गरेका छन्।

रोजगारीको लागि परदेश जानेहरुसँग ससाना सपना हुन्छन्। जस्तो कि, घर बनाउने, परिवारको आवश्यकता पूरा गर्ने, बालबच्चालाई ठिकैको स्कुलमा पढाउने। यो स्वभाविक पनि हो। तर त्यस्ता सपना पूरा नहुँदै कैयौंले संसार छाडिसक्छन्।

जिडिपीको ठूलो हिस्सा रेमिट्यान्सले धानेको छ। तर रेमिट्यान्स पठाउने युवाहरुको सुरक्षाको लागि सरकार पटक्कै संवेदनशील भएको देखिँदैन। बस्, युवाहरुको हातमा पासपोर्ट धमाउन मात्रै हतारो भइरहेको देखिन्छ।

कोरियाको सन्दर्भमा हाल नेपाल सरकारले नेपाली दूतावासमार्फत नेपाली कामदारको स्थिति समस्या, चुनौती र अवसरहरुको बारेमा कुनै पहलकदमी लिइएको पाइँदैन। गम्भीर प्रकृतिका समस्याहरुको लागि मनोचिकित्सक, परामर्शदाता सहितको अन्तर्क्रिया त परको विषय भइहाल्यो।

नेपालीहरुका बीचमा आपसी समन्वय र सहकार्य गर्नुपर्ने महत्त्वपूर्ण राष्ट्रिय उत्सव र पर्वमाहरु समेत दूतावासले मनोमानी ढंगले कार्यक्रम गर्दै आएको छ। कामदार तथा नेपाली समुदायको सहकार्यमा दूतावास पटकपटक चुकेको छ।

सररकाले पनि समस्याहरुको समाधानका लागि नेपाली कामदारहरुको स्थलगत अध्ययन गरी यथोचित ढङ्गले नीतिगत, कार्यगत र प्रक्रियागत रुपमा ठोस योजनाहरु तर्जुमा गरिरहेको पाइँदैन। विदेशी सहयोग परामर्श केन्द्रमार्फत दिइने दोभाषे सेवा चौबिसै घण्टा पुर्‍याई क्षेत्रगत रुपमा सेवा बिस्तार गर्ने, बैंक, पुलिस चौकी लगायत अन्य प्रशासनिक तथा कानुनी परामर्शका लागि समुचित प्रवन्ध यथाशक्य अघि बढाउनुपर्ने आजको आवश्यकता हो। तर भइरहेको छैन।

सरकारले गर्नुपर्ने काम अरु पनि छन्। स्थलगत अध्ययन प्रतिवेदनको आधारमा समस्याको वर्गीकरण गरेर निकास पहिल्याउनका निमित्त क्षेत्रगतरुपमा मानसिक एवं शारीरिक दुर्वलताको आधारमा मनोचिकित्सक, विज्ञ परामर्शदाताहरुबाट प्रत्यक्ष अन्तर्क्रियात्मक सेमिनारहरु गर्नुपर्छ। कोरियाको फरक परिवेश, हावापानी, जीवनशैली, भाषा, रहनसहन, संस्कृतिको बारेमा पनि उचित कक्षाको व्यवस्था गरी फरक वातावरणीय विविधतायुक्त परिस्थितिमा सहज समायोजनका सबै सचेत हुनुपर्छ।

दोश्रो कुरा, सरकारी तबरबाट अपेक्षित कुनै सहयोग, सल्लाह या समस्या समाधानको मार्ग नपहिल्याइएको अवस्थामा व्यक्तिगतरुपमा आफू, आफैं र आफ्नो लागि स्वयं सजगता र सचेतता अपनाउनुपर्ने देखिन्छ। जस्तै, कार्यस्थलमा औद्योगिक दुर्घटनाबाट बच्न सुरक्षाको सम्पूर्ण प्रक्रिया अपनाइ ध्यानपूर्वक काम गर्ने, डिप्रेसनबाट जोगिन एक्लै नबस्ने, साथीहरु सँग समय बिताउने, कम्पनीभित्र या बाहिर सधैं आफ्नो स्वास्थ र सुरक्षाको बारेमा सतर्क हुनुपर्छ। वातावरण, जीवनशैली, हावापानी, चुनौती र अवसरहरुको बारेमा अभिमुखिकरण मार्फत सवल र दुर्वल पक्षहरुको बारेमा पर्याप्त जानकारी दिनुपर्ने देखिन्छ।

प्रत्येक महिना विभिन्न कारणले लगातार नेपालीहरुको निधनको खबर हेर्नु, सुन्नु र  सामाजिक सञ्जालमा रोदन मिश्रित श्रद्धाञ्जली अर्पण गर्नु कोरियामा बस्ने हाम्रो विवशता बनेको छ।
कोरियाका बारेमा आम रुपमा सुनिने चर्चा, भाषा कक्षा सञ्चालकले देखाउने सपना वा हामीजस्तै कैयौंले देखेको सपनाजस्तो सहज यहाँ हुँदैन। कोरियाका बारेमा नेपालमा मासिक कमाइको एकोहोरो सपनामा पिङ खेल्नमात्रै लगाइन्छ भन्ने यथार्थ कोरिया आइपुगेका युवालाई जति अरु कसलाई पो थाहा होला र? 

कलेजमा पढ्दै गरेका र काम गर्ने अनुभव पनि नभएकाहरुले पनि कोरिया आउनुअघि राम्रोसँग सोच्न अनुरोध गर्छु। तर, हाम्रो नेपाली समाज एक खालको मनोसामाजिक रोगबाट ग्रसित पनि छ। लहैलहै र अति उत्साहले मानिसलाई हरेक ठाउँबाट मोड्न सक्छ। सपना देखाउन सक्छ। तर कोरियाको सन्दर्भमा बाबुआमा, छिमेकी या साथीभाइको लहैलहैमा लाग्नु जरुरी छैन। अरु कसैले कमाएको भन्ने सुनेर उत्साही हुनु पनि जरुरी छैन। भन्छन् नि– 'अर्काले घोडा चढे भन्दैमा आफू धुरी नचढ्नु।' हो, छिमेकीको छोरा कोरियन घोडा चढे भन्दैमा आफूले सपनाको धुरी चढ्नु मुर्खता हो।
पृष्ठभुमि राम्रै छ, जीवनयापन गजबसँग चलेकै छ, पढाइ, व्यापार व्यवसाय, परिवार सबै सामान्य रुपमा चलेकै छ भने कोरिया नआउन नै सुझाब छ, मेरो।

शरीर स्वस्थ छैन भने एकबारको जीवनलाई वियोगान्त फिल्मको कथा जस्तो नबनाउन आग्रह गर्छु। पूर्णरूपमा स्वस्थ, बलियो, आत्मविश्वासी, दृढ सङ्कल्पहरुले मात्रै कोरियाको बारेमा, यहाँको रोजगार पद्धतिका बारेमा अध्ययन गरेर आउनुहोस्।

कोरिया कामको देश हो। 'टाइगर अफ एसिया'को रुपमा विश्वले कोरियालाई चिनेको छ। आजभन्दा करिब ६० बर्षअघि फर्किने हो भने कोरिया गृहयुद्ध, गरिबी, भोकमरीसँग पैठेजोरी गर्दै थियो। तर पछिल्ला ४ दशकको बीचमा यसले असामान्य विकास गरेको छ। आज विश्वसामु विकासकै कारण चिनिएको छ। यसमा प्रत्येक कोरियनको कडा मेहनत जोडिएको छ। काम नगरे यहाँ यहीँका मानिसलाई पनि बाँच्न मुस्किल छ।

कोरियामा आएर नेपाली जीवनशैली नपाँउदा डिप्रेसनको एक तह पार गरेर उम्केको छु। कम्पनीको कामको अवस्था, कम्पनीको मालिक र अन्य कामदारहरुले दिने तनाव, थोरै तलब, कामको पेलाइ इत्यादिका कारण म स्वयं डिप्रेसनमा परेको थिएँ। अहिले ती दिनहरु सम्झिँदा ठूलो दुर्घटनाबाट जोगिएँ जस्तो लाग्छ। मैले भोगेको तनाब कोरियाको प्रतिनिधि समस्या हो। धेरैले तनावपूर्ण वातावरणमा आफूलाई समायोजन गर्दै अघि बढ्न सक्दैनन्। फलस्वरुपमा मानसिक समस्या बढ्दै गएर कयौंले आत्महत्या समेत गर्छन्।

अक्सर मानिसहरु आत्महत्या गर्नु कायरता हो भन्छन् तर यथार्थमा त्यो सत्य होइन। बरु यो तनावको व्यवस्थापन हुन नसक्नुको परिणाम हो। जीवन प्रतिको नैराश्यताको सर्वोच्च बिन्दु हो, जहाँ मृत्युबाहेक अरु केही देखिँदैन।

जिटुजी (सरकारि पद्धति) मार्फत रोजगार सम्झौता हुँदै कोरिया प्रवेश हुने भए पनि इपिएस प्रणालीमा सम्पूर्ण अधिकार रोजगारदातामा निहित हुने कानुनी प्रावधानका कारण समस्या जटिल बन्दै गएको देखिन्छ। कोरियामा सामान्यतया थ्रीडि (डेन्जर, डर्टी र डिफिकल्ट) काम गर्नु पर्छ। दैनिक त्यस्ता काम गर्नु कसैका निम्ति पनि सहज हुँदैन। हाम्रो जीवनपद्धतिमा सामान्यतया त्यस्ता काम हुँदैन। त्यसैले पनि कोरियन कम्पनीमा अत्यन्तै गाह्रो काम गर्नुपरेको धेरैको अनुभव हुन्छ। उसै त गाह्रो काम, त्यसमा पनि दैनिक ८ देखी १५ घण्टासम्म पसिना चुहाएर जोखिम मोल्दै निरन्तर गरिरहनु लहैलहैमा लागेर देखिने भन्दा धेरै कठिन छ।

कोरियामा कमाउन नसकिने होइन, कमाउन सकिन्छ। लाखौं कमाउन सकिन्छ तर लाखौं दुःख भोगेर मात्रै।

प्रकाश योञ्जन

योञ्जन काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका सचिव हुन्।

प्राप्त प्रतिकृयाहरू

Ishwar Sirpali
जति मरिहत्ते गरेर कोरियामा गरिन्छ, त्यति नेपालमा गरे कति राम्रो हुने थियो। कोरियाको बारेमा जानकारी दिदै गर्नु होला।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार