भैरहवा– रुपन्देहीमा सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दो क्रममा छन्। रुपन्देही जिल्ला अदालतमा दैनिक जसो सम्बन्ध बिच्छेदका घटनाका मुद्धा दर्ता हुने गरेको छ। जिल्ला अदालत रुपन्देहीको तथ्याङकलाई हेर्ने हो भने यो दर वर्षेनी बढ्दै गएको छ।
अदालतमा दर्ता भएका पछिल्लो तीन वर्षको मुद्दालाई आधार मान्ने हो भने वार्षिक करीब ५५ का दरले मुद्दाको संख्या बढेको छ। आर्थिक वर्ष २०७२/०७३ मा ३ सय ५८ मुद्दा दर्ता भएका थिए।
२०७३/०७४ मा ४ सय १२ वटा र २०७४/०७५ मा ५ सय १४ वटा सम्बन्ध बिच्छेदका मुद्दाहरु दर्ता भएको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार संजिव पोख्रेलले जानकारी दिए।
उनका अनुसार दर्ता भएका मुद्दामध्ये २०७२/०७३ मा ३ सय २५ वटा, २०७३/०७४ मा ४ सय ६ वटा र २०७४/०७५ मा ४ सय ६८ वटा मुद्दा फछ्र्यौट भएका छन्।
सम्बन्ध बिच्छेद गर्नेमा सबैभन्दा बढी २० देखि ३५ वर्ष उमेर समुहका र केही मात्रामा भने पाका उमेरका पनि रहेका उनले बताए। किशोरावस्थामा लहलहैमा विवाह गर्ने र पछि बुझ्दै जादाँ पछुताउने प्रवृतिका कारण विवाहको केही वर्षमै युवा युवतीले सम्बन्ध बिच्छेदको बाटो रोज्ने गरेको कतिपयको विशलेषण छ। अदालतमा मुद्दा दर्ता गराउन आउनेमध्ये २० देखि ३५ वर्ष उमेरका युवायुवतीको संख्या मात्रै ८० प्रतिशत र अन्य उमेर समुहका २० प्रतिशत रहेका श्रेस्तेदार पोख्रेलले बताए। उनले अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ताका लागि ६० वर्षीय बृद्ध आमा र ६८ वर्षीय बृद्ध बुबासमेत आएको स्मरण गरे।
अदालतमा सम्बन्ध बिच्छेद गर्न आउनेमध्ये ७० प्रतिशत पहाडी मुलका रहेका छन्। त्यस्तै पछिल्लो समय सम्बन्ध बिच्छेदका लागि न्युन मात्रामा पुरुषहरु अदालत आउने गरेको तथ्यांकले देखाएको छ। सम्बन्ध बिच्छेदका लागि महिलाले दायर गराउने मुद्दामा श्रीमानले खान लगाउन नदिएको, हेरचाह नगरेको, झैझगडा गर्ने लगायतका विषयमा उल्लेख रहेपनि आन्तरिक कारण भने फरक हुने गरेको बताउछन् श्रेस्तेदार पोख्रेल।
धेरैजसो विदेशीएका श्रीमानका श्रीमतीको परपुरुषसँग सम्बन्ध, छुट्टाछुट्टै बस्ने श्रीमान श्रीमती, सम्पति, यौनइच्छा लगायतका कारण सम्बन्ध बिच्छेद हुने गरेको जानकारहरु बताउँछन्। सम्बन्ध बिच्छेद गर्नेमा संयुक्त परिवारका भन्दा एकल परिवार, वैदेशिक रोजगारमा गएका श्रीमान तथा श्रीमती तथा शहरमा बस्दै आएका महिला बढी रहेको श्रेस्तेदार पोख्रेलले बताए।
बढ्दै गएको सम्बन्ध बिच्छेदको घटनाले समाजलाई नकारात्मक दिशातर्फ धकेलेको त्रिभुवन विश्वविद्यालयका सेवा निवृत सहप्रध्यापक तथा समाजशास्त्री उमेश रिजालको बुझाइ छ। यसको न्युनिकरणको लागि राज्यले विद्यालयदेखि कलेज तहसम्म पूर्वीय दर्शनको शिक्षाको बारेमा अध्यनन अध्यापन गराउन आवश्यक रहेको उनले तर्क गरे।
उनले मुलुकमा पश्चिमा संस्कृतिका प्रभावकै कारण नेपालमा सम्बन्ध बिच्छेदका घटना दिन प्रति दिन बढ्दै गएको दावी गरे।
अदालतमा पुग्ने मुद्दाहरुलाई विशेषलण गर्दा अधिकांश स–सानो झैझगडाको कारणले मात्रै पनि सम्बन्ध बिच्छेदसम्मको अवस्थामा पुग्ने गरेको देखिएको बताउँदै समाजशास्त्री रिजालले न्युन मात्रामा मात्रै वास्तविक उत्पीडनमा परेर सम्बन्ध बिच्छेद गर्ने दावी गरे। पश्चिमी संस्कृतिका कारण युवा युवतीले लहलहैमा विवाह गर्ने र विवाह गरेको केही समयमै समान्य खटपट हुँदा सम्बन्ध बिच्छेदको बाटो रोज्ने गरेको उनको भनाइ छ।
‘वर्षौंसम्म सँगै जिवनयापन गरेका दम्पतीले सामान्य खटपट सहन नसकि सम्बन्ध बिच्छेदका लागि अदालतसम्म पुग्ने गरेका छन्, यो राम्रो कुरा होइन’, समाजशास्त्री रिजालले भने,‘सामान्य कुरामा सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुग्नु हुँदैन।’
रुपन्देही जिल्ला अदालतका मुख्य न्यायाधिश नरिश्वर भण्डारीले अदालतसम्म सर्वसाधरणको सहज पहुँच तथा कानुनको प्रयोग गरेकोले मुद्दा दर्ताको संख्यामा वृद्धि भएको बताए। उनले भने,‘मुद्दाको दर विगतका वर्षमा भन्दा धेरै छन्। यसले के जनाउछ भने अपराध बढेको नभई अदालतमा सर्वसाधरणको पहुँच बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।