राजविराज– गत वर्षको बाढीका कारण घरबिहिन सप्तरीबासीका लागि सरकारले उपलब्ध गराएको राहत रकम समेत कतिपय स्थानीय तहले वितरण नै गर्न नसकी फिर्ता पठाएका छन्।
बाढीपीडितको नाममा विवाद देखिएको र वितरण गर्ने प्रयास गर्दा पनि विभिन्न अवरोध उत्पन्न भएको उल्लेख गर्दै राहत रकम फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।
जिल्ला सदरमुकाम समेत रहेको राजविराज नगरपालिकाले बाढीपीडितको १ लाख ३० हजार रुपैयाँ राहत रकम फ्रिज गरेको छ। कार्यालयका अनुसार राजविराज नगरपालिकाले १ हजार ६ सय ३७ परिवार बाढी पीडितका लागि राहत वितरण गर्न कुल ४ करोड ९ लाख २५ हजार रुपैयाँ बुझेको थियो।
स्थानीय तहले राहत रकम बुझेको सूची
यसैगरी, शम्भुनाथ नगरपालिकाले ४७ परिवारलाई राहत वितरण गर्न बुझेको ११ लाख ७५ हजार रुपैयाँ मध्ये हालसम्म पनि १ लाख २५ हजार रुपैयाँ वितरण गर्न सकेको छैन। बाँकी रकम बैंक खातामा राखी वितरण गर्न प्रशासन कार्यालयमा बुझाइएको छ।
अधिकांश स्थानीय तहले पेश्की फर्छ्याैट गरेनन्
राहत रकम बुझेका अधिकांश स्थानीय तहले हालसम्म पनि राहत वितरणका लागि लिएको पेश्की फर्छ्याैट गरेका छैनन्।
आर्थिक वर्ष समाप्त भएकाले राहत वितरणको यथार्थ विवरणसहित पेश्की फर्छ्याैट गर्न पटक–पटक ताकेता गर्दा पनि हालसम्म कुनै सुनुवाइ नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ‘कार्यालय प्रमुखहरुको हरेक बैठकमा यो विषयमा कुरा उठ्छ,’ कर्मचारीहरु भन्छन्, ‘तर न त राहत वितरणको विवरण बुझाउँछन्, न त फिर्ता नै गर्छन्।’
तत्कालीन मन्त्रिपरिषद्को निर्णय अनुसार बाढीपीडितको घर मर्मतका लागि प्रतिपरिवार १५ हजार र न्यानो कपडा वितरणका लागि १० हजार गरी २५ हजार रुपैयाँका दरले सप्तरीमा कुल १२ करोड ८६ लाख २५ हजार रकम उपलब्ध गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।