काठमाडौं– आर्थिक वर्ष (आव) २०७५/७६ सुरु भएको डेढ महिनाभन्दा बढी समय बितिसक्दा प्रदेश २ का करिब एक तिहाइ स्थानीय तहले अझै बजेट ल्याएका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उक्त प्रदेशका ४३ वटा स्थानीय तहले अझै पनि चालू आवको बजेट ल्याएका छैनन्।
प्रदेश २ मा १ सय ३६ वटा स्थानीय तह छन्। कूल स्थानीय तहको संख्या हिसाब गर्दा ३१ प्रतिशत स्थानीय तहले बजेट ल्याएका छैनन्।
मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार प्रदेश ३ का ११ वटा, १ का ८ वटा, कर्णाली प्रदेशका २ वटा र कर्णाली प्रदेशका १ वटा स्थानीय तहले बजेट ल्याएका छैनन् ।
प्रदेश ५ र ७ का सबै स्थानीय तहले भने बजेट ल्याइसकेका मन्त्रालयले बताएको छ।
कानुनले नै तोकेको समयभन्दा एक महिना बितिसक्दा ठूलो संख्याका स्थानीय तहले अझै बजेट ल्याएका छैनन्।
मन्त्रालयका अनुसार ६५ स्थानीय तहले बजेट ल्याएका छैनन्।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ।
उक्त व्यवस्था अनुसार १० असारमै सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने भए पनि ठूलो संख्याका स्थानीय तहले बजेट ल्याएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।