सुर्खेत– जोखिमयुक्त मानिएको भू–भागमा सुरुङ खन्ने काम सहज रुपमा सम्पन्न भएसँगै भेरी–बबई डाइभर्सनको निर्माण कार्यले गति लिएको छ। आयोजनाको भौगर्भिक अध्ययनका क्रममा जोखिमयुक्त क्षेत्रको रुपमा लिइएको भू–भागमा विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टिबिएम)मार्फत सुरुङ खन्ने काम सम्पन्न भएको छ। अब सुरुङ निर्माणको काममा थप जोखिम नरहेको आयोजनाले जनाएको छ।
आयोजनाका निर्देशक शिवकुमार बस्नेतले आयोजनाको अप्ठ्यारो टरेको बताए। ‘आयोजनाभित्र पर्ने तोलीखोला क्षेत्रमा तलाउ हुन सक्ने वा कडा चट्टान भेटिन सक्ने आँकलन गरिएको थियो।’, उनले भने, ‘उक्त क्षेत्रमा सुरुङ खन्ने काम सकिएको छ। अध्ययनका क्रममा आंकलन गरिएको जस्तो जोखिम काम गर्दा भने देखिएन। अब अप्ठ्यारो टरेको छ।’ निर्देशक बस्नेतले अब सुरुङ निर्माणको काम तोकिएको समयभित्रै सम्पन्न हुनेमा विस्वस्त हुन सकिने जनाए।
४८ मेगावाट बिजुली उत्पादन गरिने
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको भेरी–बबई निर्माणको काम धमाधम सञ्चालन भइरहेको छ। यस आयोजनाबाट भेरी नदीको पानी सुर्खेतबाट सुरुङ खनेर बबईमा पुर्याइने छ। जसबाट ४८ मेगावाट बिजुली उत्पादन गर्नुका साथै बाँके र बर्दियामा सिचाइँ सुविधा पुर्याइने छ। त्यसैले यसलाई बहुउद्देश्यीय आयोजनाको रुपमा अघि बढाइएको हो।
सुरुङ खन्न पहिलोपटक टिबिएम मेसिन प्रयोग
आयोजनाको सुरुङ खन्न नेपालमै पहिलो पटक टिबिएम मेसिन प्रयोगमा ल्याइएको छ। उक्त मेसिनले दैनिक ५१ मिटरका दरले सुरुङ खन्ने काम गरिरहेको छ। हालसम्म आधाभन्दा बढी सुरुङ खन्ने काम सकिएको छ। मेसिनबाट मात्रै ६ हजार ३ सय ५० मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। सुरुङको कुल लम्बाई १२ किलोमिटर रहेको छ।
आयोजनाअन्तर्गत पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत उत्पादन गरेर राष्ट्रिय प्रशारणमा जोड्ने र तेस्रो चरणमा भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजना छ। सुरुङ निर्माण सँगसँगै अब पावर हाउस र बाँध निर्माणको प्रक्रिया पनि सुरु गरिने आयोजनाका निर्देशक बस्नेतले जानकारी दिए। सुर्खेतमा रहेको भेरी नदीको चिप्लेमा आयोजनाको बाँध निर्माणको लागि टेण्डरको प्रक्रिया अघि बढिसकेको छ।
नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाएका विभिन्न आयोजनामध्ये भेरी–बबई सबैभन्दा बढी प्रगति भएको आयोजना हो। यसलाई कर्णाली प्रदेशको समृद्धिका लागि योगदान पुर्याउने आयोजनाको रुपमा समेत हेरिएको छ।
आयोजना निर्माणका लागि सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) बीच २०७१ माघमा ठेक्का सम्झौता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।