काठमाडौं– विगत २४ वर्षको अवधिमा ५५ लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेसिएका छन्।
नेपालबाट रोजगारीको खोजीमा विदेसिने कामदारको हकमा सरकारले संस्थागत र व्यक्तिगत श्रम स्वीकृति जारी गर्ने गरेको छ।
सरकारले तंथ्याक संकलन सुरु गरेको आर्थिक वर्ष २०५१/५२ मा ५ हजार १ सय ५९ जनाले श्रम स्वीकृति लिएर वैदेसिक रोजगारीमा गएका थिए।
सरकारले रोजगारीमा जाने कामदारको विवरण तथ्यांक राख्न सुरु गरेको २५ वर्षमा ५५ लाख २६ हजार ४ सय ६४ जना कामको खोजीमा विभिन्न देश पुगेका छन्।
यो अवधिमा रोजगारीमा जाने कामदारको संख्यामा १ सय २० प्रतिशतले वृद्धि भएको छ।
वैदेसिक रोजगारीमा जाने कामदारको संख्यामा वृद्धि भएपछि सरकारले पहिलो पटक वैदेसिक रोजगार ऐन, २०४२ ल्याएको थियो।
२०४२ सालमा ऐन जारी भए पनि सरकारले वैदेसिक रोजगारीमा जाने कामदारको तथ्यांक संकलन भने २०५१ सालबाट मात्र सुरु गरेको हो।
स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्नेतिर सरकारले ध्यान नदिँदा कामको खोजीमा विदेसिने युवाको संख्यामा क्रमशः वार्षिक रुपमै वृद्धि हुँदै गएको वैदेसिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजाल बताउँछन्।
देशमा ठूला राजनीतिक परिवर्तन गर्नेतिर दलहरु अल्मलिँदा आन्तरिक रोजगारी ओझेलमा परेका कारण विदेसिनेको संख्या बढेको प्रवक्ता रिजालको बुझाइ छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ५ वर्षभित्र बाध्यताकारी वैदेसिक रोजगारीको अन्त्य गर्ने नीति अघि सारेको छ।
श्रम विज्ञ दीपेन्द्र थापा युवा पयालन रोक्न नसक्दा युवा शक्ति विदेसिने क्रम वार्षिक रुपमा बढ्दै गएको बताउँछन्। सरकारले वैदेसिक रोजगारीको विकल्पमा आन्तरिक श्रम बजारमा रोजगारीको अवसर तत्काल सिर्जना गर्नसके युवा पलायन रोकिन सक्ने उनको भनाइ छ।
नेपालबाट ९० प्रतिशत युवा कतार, साउदी, युएई, ओमन, कुवेत, बहराइन, जोर्डन र मलेसिया जाने गरेको विभागको तंथ्याकमा छ।
सरकारले २०७२ साल साउनबाट रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने कामदारका हलमा फ्रि भिसा र टिकट लागू गरेको छ। फ्रि भिसा र टिकट लागू गरेयता १६ लाखभन्दा बढी युवा वैदेसिक रोजगारीमा गएका छन्।
पछिल्लो समय युरोप, अस्ट्रोलियो, क्यानडा, अमेरिका जस्ता विकशित देशमा कामको खोजीमा जाने नेपाली युवाको संख्या पनि बढ्दो छ।
रोजगारीमा जाने कामदारको संख्या आर्थिक वर्ष २०५७/५८ देखि ठूलो संख्यामा वृद्धि हुन थालेको विभागको तंथ्याकले देखाउँछ।
आर्थिक वर्ष २०६४/६५ देखि भने विदेसिनेको संख्यामा उच्च वृद्धि भएको छ। आर्थिक वर्ष २०६४/६५ देखि हालसम्म करिब ५२ लाख नेपाली कामको खोजीमा विदेसिएको विभागले जनाएको छ।
यो अवधिमा कोरिया, युरोपका देश, क्यानडा र अमेरिका लगायत विकशित देशमा करिब १ लाखभन्दा बढी युवा पुगेका छन्।
११ वर्षअघि विदेश जाने महिलाको संख्या शून्य
११ वर्षअघि रोजगारीका लागि विदेसिने महिलाको संख्या सून्य थियो। आर्थिक वर्ष २०६३/६४ देखि मात्रै रोजगारीका लागि विदेश जाने कामदारको लैंगिक आधारमा विभागले तथ्यांक संकलन सुरु गरेको हो। सरकारले तंथ्याक राख्न सुरु गर्नुअघि विदेसिने महिला कामदारको संख्या उल्लेख छैन।
विभागले महिलाको तंथ्याक राख्न सुरु गरेको ११ वर्षमा रोजगारीको खोजीमा विदेसिने महिलाको संख्या वार्षिक रुपमा वृद्धि हुँदै गएको पाइन्छ।
आर्थिक वर्ष २०६३/६४ मा ९० जना महिला वैदेसिक रोजगारीमा गएको विभागको तंथ्याक छ।
यो अवधिमा करिब ४ लाख महिला वैदेसिक रोजगारीको खोजीमा विदेसिएको विभागले जनाएको छ।
गत आर्थिक वर्षमा ३७ हजार ५ सय ५२ जना महिला वैदेसिक रोजगारीमा गएका छन्।
विगत दुई वर्षदेखि सरकारले महिलालाई घरेलु काममा जान रोक लगाएको छ। सरकारले महिला कामदार जान रोक लगाए पनि मेनपावर र दलालमार्फत वार्षिक ४० हजारभन्दा बढी महिला वैदेसिक रोजगारीमा जाने गरेका छन्। पछिल्लो पटक भारत हुँदै खाडी मुलुक हिँडेका दर्जनौं महिलाको नयाँ दिल्लीमा गरिएको उद्धारले पनि अवैध रुपमा महिला कामदार विदेश जाने गरेको पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।