राजविराज– पटक–पटकको बलात्कार प्रयासले इज्जत जोगाएर गाउँमा बस्न नसकेको भन्दै सप्तरीमा एक महिलाले प्रहरी समक्ष गुहार मागेकी छिन्।
विष्णुपर गाउँपालिका १ का करिब ५० वर्षीय किशुनदेव यादवले आफूमाथि १ वर्षभित्र तीन पटक बलात्कार गर्न खोजेको उनको आरोप छ। पति र गाउँलेसहित बिहीबार जिल्ला प्रहरी कार्यालयमा आएकी उनले इज्जत र ज्यान जोगाएर गाउँमा बस्नै नसक्ने अवस्था आएकाले दोषीलाई कारबाही गरी आफूलाई घरमा बस्ने सहज वातावरण बनाइदिन माग गरेकी छिन्।
पीडित महिलाका अनुसार किशुनदेवले पछिल्लो पटक १५ साउनको राति उनीमाथि जबरजस्ती गरेका हुन्। ‘खाना खाएर पति र सानो छोरा एउटा कोठामा र ३ छोराछोरीसहित म अर्को कोठामा सुत्यौं। गर्मीको समय भएकाले ढोका खुल्लै थियो,’ उनले भनिन्, ‘राति करिब साढे १२ बजे किशुनदेव कोठामा पसेर मलाई लछार–पछार गर्न थाल्यो।’
एकैपटक मुख थुनेर कपडा खोल्न र च्यात्न थालेपछि आफू आत्तिएर कराउन खोज्दा किशुनदेवले पैसाको लोभसमेत देखाएको उनले बताइन्। ‘५ हजार दिन्छु हल्ला नगर भन्दै जिउको कपडा खोल्न र च्यात्न थालेपछि त्यही मौकामा मैले हल्ला गरें र पति आउनु भयो,’ उनले थपिन्, ‘त्यसपछि किशुनदेव भाग्यो।’
घटनाका विषयमा गाउँका प्रतिष्ठित व्यक्तिहरुलाई बोलाएर सल्लाह मागियो। गाउँको समस्या गाउँमै मिलाउने सल्लाह अनुसार बिहीबार बिहानै गाउँमा पञ्चायती बस्यो। किशुनदेवले गल्ती स्विकार गरेपछि ११ हजार जरिवाना तिराउने निर्णय भयो। तर, किशुनदेवले समाजको निर्णय नमानेपछि फेरि पनि यस्तो घटना हुन सक्ने डरले आफू प्रहरी समक्ष आएको पीडितले बताइन्।
‘समाजको कुरालाई लत्याएर पैसा दिन्न जे गर्न मन छ गर् भन्दै हिँडेपछि समस्या बल्झिने डर भयो,’ उनले भनिन्, ‘जाँदाजाँदै मेरो छोरो पनि असई छ, सबैलाई देखाइदिन्छु भन्दै हिँडेकाले उल्टै फसिने हो कि भन्ने पीरले पनि त्यसै बसिरहन सकिनँ।’ गाउँलेका अनुसार किशुनदेवका छोरा हाल जिल्ला प्रहरी कार्यालय सिरहा अन्तर्गत मिर्चैयामा कार्यरत छन्।
किशुनदेवले आफू माथि १ वर्षभित्र ३ पटक बलात्कार गर्न खोजेको पीडित महिलाले बताइन्। ‘पहिलोपटक पञ्चायती बसेर समाजले माफ मिनाहा दियो,’ उनले भनिन्, ‘दोस्रो पटक दुई महिनाअघि पनि त्यही घटना दोहोरिएपछि समाजले नै ५ हजार जरिवाना गरेर छोडेको थियो।’
पछिल्लो पटक समाजलाई नै चुनौती दिएर आफूमाथि आक्रमण भएकाले इज्जत र ज्यान जोगाउन प्रहरीको शरणमा आएको उनको भनाइ छ। स्थानीयले दिएको जानकारी अनुसार किशुनदेवले यसअघि गाउँकै अर्की महिलालाई पनि बलात्कारको प्रयास गरेका थिए। त्यो घटना जिल्ला प्रहरी कार्यालयको हाताभित्र मिलापत्र गरेर सामसुम पारिएको स्थानीय दीपक यादव बताउँछन्।
५ वर्षअघि पत्नीको मृत्यु भएपछि किशुनदेवले यस्ता क्रियाकलाप सुरु गरेको उनका गाउँले अशोक यादवको भनाइ छ।
प्रहरीले किशुनदेव विरुद्ध उजुरी दर्ता गरी अनुसन्धान र कारबाही सुरु गरेको जनाएको छ। ‘पीडितको उजुरी दर्ता गरी दोषीलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ,’ सप्तरी प्रहरीका एसपी मुकेशकुमार सिंहले भने, ‘यो गम्भीर विषय हो, अनुसन्धानबाट दोषी देखिएका कसैलाई छुट हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।