पोखरा– पोखरा महानगरपालिका–३ मा रहेको पालिखे चोकको ४० वर्षदेखिको विवादित घर बिहीबार भत्काइएको छ। वसन्त उदास, मिश्री उदास र दूधमान उदासको नाममा रहेको घरको मुआब्जा दिएर डोजर लगाइएको वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलाले जनाए।
विवादित जग्गाधनीमध्ये दुई परिवारले मुआब्जा बुझिसकेका छन्। पहिलो चरणमा उदास परिवारको घर भत्काइएको र बाँकी रहेका घरहरु पनि १५ दिनभित्रै भत्काइसक्ने वडाध्यक्ष बास्तोलाले बताए।
‘टेलिकमको बुथ अन्यत्रै सार्नुपर्ने छ, त्यो सोरेर बाँकी घर पनि भत्काइन्छ,’ उनले भने।
पालिखेचोकमा सडक मापदण्ड क्षेत्रभित्र परेका संरचना भत्काउन र नयाँ घर बनाउनसमेत नमिल्ने गरी महानगरपालिकाले निर्णय गरेको थियो।
यसअघि पटक–पटक पालिखे चोक चौंडा गर्ने प्रयास भए पनि स्थानीयको अवरोधका कारण सफल हुन सकेको थिएन।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानरका इन्जिनियरको सहयोगमा मापदण्डभित्रका संरचना हटाउने अभियान थालिएको जनाए। ‘महानगरका इन्जिनियरसँग प्राविधिक सहयोग लिने गरी बास्तोलाको नेतृत्वमा मापदण्डभित्रका संरचना हटाउन सुरु गरिएको हो,’ मेयर जिसीले भने। त्यहाँ रहेका ३ वटा बिजुलीका पोललाई तत्काल हटाउन महानगरले विद्युत प्राधिकरणलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।