राजविराज– पूर्व सांसद तथा दलित र भुमिअधिकार आन्दोलनका अगुवा असर्फि सदालाई बैद्य–प्रकाश मानवअधिकार पुरस्कार, २०७५ बाट सम्मानित गरिएको छ।
सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ का ४४ वर्षीय सदालाई २६औं प्रकाश स्मृति दिवसको अवसर पारी बुधबार सम्मान गरिएको हो।
बैद्य–प्रकाश मानवअधिकार कोषका अध्यक्ष बैद्यनाथ झा, इन्सेकका प्रदेश १ का संयोजक सोमराज थापा र सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले सदालाई सम्युक्त रुपमा ३ हजार १ सय रूपैयाँ र सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरे।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा २१औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित राजविराज ७ का बैद्यनाथ झाले प्राप्त गरेको नगद ५० हजार रुपैयाँबाट उक्त पुरस्कार स्थापना गरिएको थियो। पुरस्कारबाट पहिलोपटक २०७३ मा दलित आन्दोलनका अगुवा बलदेव रामलाई र दोस्रोपटक २०७४ मा युक्तिलाल मरिकलाई सम्मानित गरिएको थियो।
को हुन् असर्फि?
दुई दशकदेखि दलित, भूमिहिन, सुकुम्बासीको हकअधिकार प्राप्ति र संरक्षणको आन्दोलनमा सक्रिय सदाले २०५५÷०५६ यताको ‘सिनो बहिस्कार’ आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। दलित सशक्तिकरण, मानवअधिकार र सामाजिक न्यायका लागि निरन्तर क्रियाशील रहेका उनले सुकुम्बासी र भूमिहीनहरुको पक्षमा मधेसमा क्रान्तिकारी भूमिसुधारको आवश्यक्ताको वकालत गर्दै आएका छन्।
लोकतन्त्र र गणतन्त्रका लागि सक्रिय रहेका सदाले करिब दुई वर्ष सुरक्षाकर्मीको हिरासत र कारागारमा चरम यातना भोगेका छन्। सप्तरी, सिरहा, धुनषा, महोत्तरी लगायतका तराईका जिल्लामा हुने जातीय छुवाछुत र घर उठिवासविरुद्धको अभियानमा सदाको क्रियाशीलता अहिले पनि जारी छ।
२०६३ सालमा अन्तरिम व्यवस्थापिकाको सदस्य भई महत्वपूर्ण भूमिका निर्वाह गरेका सदाले प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेका छन्। लेलाई र डेरनीदेबी सदाका कान्छा छोराको रुपमा २०३१ साल असोज २ गते साविक हरिहरपुर गाविस–३, मटिगढामा जन्मिएका सदाका श्रीमति, २ छोरा र २ छोरी छन्।
पुरस्कारले निरन्तर आवाज उठाउन प्रोत्साहन : सदा
सदाले आफु अहिले पनि मुसहर समुदायमा जागरण ल्याउने अभियानमा सकृयतापुर्वक लागेको बताए। वैद्य–प्रकाश पुरस्कारले आफूलाई पछाडी परेका वर्गको आर्थिक, सामाजिक र शैक्षिक सुधारका लागि निरन्तर आवाज उठाउन प्रोत्साहित गरेको उनले प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।