काठमाडौं– गत चैत १ गते नेपाली क्रिकेट टिमले एकदिवसीय मान्यता हासिल गरेर इतिहासकै ठूलो सफलता हात पारेको थियो। जिम्बाबेमा भएको एकदिवसीय छनोट प्रतियोगितामार्फत नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने एकदिवसिय मान्यता प्राप्त गरेको हाे।
विश्वकप छनोटको प्लेअफमा पिपुवा न्यूगिनीलाई ६ विकेटले पराजित गरेसँगै नेपाल एकदिवसीय मान्यता पाउने कान्छो टिम बनेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको २२ वर्षपछि नेपालले प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता थियो। सन् २०१० मा डिभिजन–५ मा रहेको नेपालले ८ वर्षको अन्तरमा ठूलो फड्को मारेको हो।
अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको २२ वर्षमा नेपाली क्रिकेटले धेरै उतारचढाव बेहोर्यो।
नेपालले सन् १९९६ मा आइसिसीबाट एसोसिएट टिमको मान्यता पाएसँगै अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको थियो। सुरुवातमा नेपालले आइसिसी र एसिसीका विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरेर तहल्का मच्चाएको थियो। युवा टिमले टेस्ट मान्यता पाएका टिमलाई समेत हराएर अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुल्न सफल भएकाे थियाे।
यस्तोमा सन् २००८ मा नेपालले ठूलो अवसर पाएको थियो। तर, आइसिसीले सुरु गरेको विश्व क्रिकेट लिगमा नेपालले फिजीसँग हार्दा डिभिजन–५ मै सीमित हुन पुग्यो। जसका कारण २ वर्ष नेपाल डिभिजन–५ मै रह्यो। सन् २०१० मा भने घरेलु भूमिमा आयोजना भएको डिभिजन–५ प्रतियोगितामा नेपाल च्याम्पियन नै बन्यो। त्यही वर्ष नेपालले डिभिजन–४ खेल्ने अवसर पाएको थियो। तर इटालीमा भएको डिभिजिन–४ मा नेपाल तेस्रो स्थानमै सीमित बन्यो।
सन् २०१२ मा मलेसियामा भएको डिभिजन–४ मा नेपालले अर्को सफलताको खुड्किलो उक्लियो। नेपाल डिभिजन–४ को च्याम्पियन बनेर डिभिजन–३ मा पुग्यो। सन् २०१३ मा नेपाल डिभिजन–३ को च्याम्पियन बनेको थियो। डिभिजन–३ को च्याम्पियन बनेपछि नेपालले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको थियो। तर न्यूजिल्यान्डमा विश्वकप छनोटमा नेपालले बिर्सनलायक प्रदर्शन गर्न पुग्याे।
सन् २०१५ मा नेपालले डिभिजन–२ प्रतियोगिता खेल्यो। तर चौथो स्थानमा सीमित भयो। यद्यपि, नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा भने स्थान बनाउन सफल भयो।
२ वर्ष चलेको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौं स्थानमै सीमित बन्दा नेपाल फेरि डिभिजन–२ खेल्न बाध्य भएको थियो। सन् २०१८ काे फेब्रुअरीमा नामिबियामा भएको डिभिजन–२ मा दोस्रो हुँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन सफल भयो।
लगत्तै जिम्बावेमा भएको विश्वकप छनोटको समूह चरणमा भने नेपालले राम्रो खेल्न सकेन। समूह चरणबाट बाहिरिएपनि नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता हासिल गर्न सफल भएकाे हाे।
एकदिवसीय मान्यता हासिल गरेको साढे ४ महिनापछि नेपालले बुधबार एकदिवसीय खेलमा डेब्यू गर्दैछ। नेदरल्यान्ड्सँग बुधबार खेल्दा नेपाल औपचारिक रुपमा कान्छो एकदिवसीय टिम बन्नेछ।
४ वर्षका लागि एकदिवसीय मान्यता
आइसिसीले एसोसिएट टिमलाई ४ वर्षका लागि अस्थायी एकदिवसीय मान्यता दिने गरेकाे छ। जिम्बावेमा भएको आइसिसी विश्वकप छनोटमार्फत नेपालसहित ४ एसोसिएट टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाएका थिए।
युएई र स्कटल्यान्डले भने एकदिवसीय मान्यता फेरि पाएका हुन्। आइसिसीले डब्लुसिएल च्याम्पियनसिपको विजेता नेदरल्यान्ड्सलाई एकदिवसीय मान्यता दिने निर्णय गरेको थियो। यता नेपालले भने पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता पाउने कान्छो टिम बनेकाे थियाे। नेदरल्यान्ड्स र नेपाल एकदिवसीय मान्यता पाउने नयाँ टिम बन्दा हङकङ र पपुवा न्युगिनीको मान्यता भने गुमेको थियो।
हाल एकदिवसीय मान्यता पाउने टिम १६ वटा छन्। जसमा १२ टिमलाई स्थायी एकदिवसीय मान्यता छ भने नेपालसहित ४ टिमलाई अस्थायी एकदिवसीय मान्यता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।