राजविराज– धान रोपाइँको समयमा प्रदेश २ का अधिकांश जिल्लामा रासायनिक मलको चरम अभाव भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसप्रति चासो लिएको छ।
कार्यालले प्रदेश अन्तर्गतका ८ वटै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरी कृषकको माग अनुसार मल आपूर्तिको व्यवस्था मिलाउन तथा तस्करी र कालोबजारी नियन्त्रण गर्न निर्देशन दिएको छ। पत्रमा खेतीको समयमा रसायनिक मल अभाव हुँदा कृषकलाई समस्या आउनुका साथै कालोबजारी बढेको जानकारी समेत गराइएको छ।
पत्रमा भनिएको छ, ‘खेतीपातीको लागि आवश्यक रासायनिक मल यस प्रदेशमा अभाव भई कृषकहरुलाई समस्या आउनुका साथै कालोबजारी समेत भएको व्यापक जनगुनासो र पत्रपत्रिकामा समेत खबर छापिन आएको हुँदा आ–आफनो जिल्लामा यसतर्फ विशेष ध्यान दिई कुषकको माग अनुसार मल आपूर्तिको व्यवस्था मिलाउनु हुन र कालोबजारी नियन्त्रणमा विशेष सचेत रहन निर्देशन गरिन्छ।’
स्थानीय प्रशासनले भने माग अनुसार आपूर्ति नहुँदा जिल्लामा मलको अभाव भएको र प्राप्त भएको मल स्थानीय तहको सिफारिसमा सहकारी मार्फत वितरणको व्यवस्था मिलाइएको जानकारी दिएका छन्। जिल्ला कृषि विकास कार्यालय सप्तरीका वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवका अनुसार सप्तरीमा मात्रै ७ मेट्रिक टन डिएपी र १० मेट्रिक टन यूरिया मलको आवश्यकता रहेको छ।
‘मागको कुल परिमाणमध्ये २५ प्रतिशत मात्रै रासायनिक मल आपूर्ति भएको छ’, सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्का भन्छन्, ‘प्राप्त भएको मललाई व्यवस्थित तवरमा वितरणको व्यवस्था मिलाएका छौं।’
मल अभाव भएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाई दिन प्रदेश र संघीय सरकारलाई समेत आग्रह गरिएको बताउँदै खड्काले मलको कालोबजारी नियन्त्रण गर्न जिल्लाभरका प्रहरी युनिटलाई निर्देशन समेत दिइएको जानकारी दिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाे पत्र:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।