भैरहवा– भारत बसाइका क्रममा कैलालीस्थित भजनी नगरपालिका–३ का १७ वर्षीय राजेश विक ५ वर्षअघि आफ्ना बुवाआमासँग फिल्म हेर्न जादाँ बिछडिए। १२ वर्षको छोरा परिवारबाट टाढा हुनु भारतमा रोजगारी गरेर जिविका चलाउँदै आएका विक दम्पतीका लागि चानचुने विषय थिएन। छोरा भेटिने आशामा उनीह्रुले भारतीय प्रहरीको सहयोगमा दुई वर्षसम्म खोजी गरिरहे। तर, नत राजेशको कुनै खबर नै आयो न त घर नै फर्किए।
बिस्तारै छोरा फर्किने आश मर्दै गयो र विक परिवार पुरानै दैनिकीमा फर्किने कोशिषमा लागे। क्रमशः वर्षहरु बित्दै गए। राजेश परिवारको धमिलो सम्झना र तस्बिरमा मात्रै सिमित हुँदै गए। तर, अचानक ५ वर्षपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले घरमै आएर राजेशको फोटो देखाउँदै उहाँलाई चिन्नुहुन्छ भनेर सोध्दा राजेशका दाइ विपेश एकाएक झस्किए।
‘आश मारेको भाइको खबर लिएर जब प्रहरी घरमा आए, तब यस्तो लाग्यो कि हाम्रो परिवारमा लागेको ग्रहण मेटियो।’, राजेशका दाइ विपेशले आफ्नो अनुभूति सुनाए।
आमाबुवासँगै रहँदा हराएका राजेशलाई भारतीय प्रहरीले फेला पारेर राजकीय बालगृह, देवरियामा राखेको रहेछ। त्यहाँ रहदा राजेशले खाना बनाउन सिके र अहिले ‘कुक मास्टर’ नै भइसकेका छन्। उनले दाल, भात, तरकारी, मासुका विभिन्न प्रकारका परिकार लगायत अन्य धेरै परिकार पकाउन सक्छन्। बालगृहमा रहेका सम्पूर्ण सदस्यलाई उनी लगायतको टोलीले खाना पकाएर खुवाउँदै आएका छन्।
दाजुभाइकाे पुनर्मिलनमा रंगिएकाे प्रहरी कार्यालय
लामो समयदेखि टाढिएको भाइलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा मंगलबार लिन आउँदा विपेशले केहीबेरसम्म राजेशलाई हेरिमात्रै रहे। उता राजेशले पनि तत्कालै आफ्ना दाइतर्फ पाइला चाल्न सकेनन्। केहीबेर उनीहरुकाबीचमा एकोहोरो हेराहेर मात्रै भयो। तर समय सपनाजस्तो लाग्ने भ्रमको पर्दामा कहाँ सदैव रहरिहन्छ र? केहीबेरमै जिल्ला प्रहरी कार्यालयको माहोलमा विक दुजुभाइको खुसी घोलियो। बाल्यकालका कुरा गर्दै दुवैजना हाँसोका फोहरा छाड्न थाले। वर्षौँपछि एक ठाउँ हुन पाएको विक दाजुभाइको हाँसोले यस प्रक्रियामा सामेल भएका प्रहरी अधिकारीहरुको मुहारमा समेत प्रसन्नता मिलेको स्पष्ट देख्न सकिन्थ्यो।
दाजुभाइको पुनर्मिलनपछि बालकलाई गुजरातमा रहेका उनका बुवासगँ टेलिफोनमा कुराकानी गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको महिला तथा बालबालिका शाखाका इन्जार्च प्रहरी सहायक निरीक्षक शेष नारायण भारतीले बताए। इन्जार्च भारतीले भने,‘कुराकानीका क्रममा बाबुछोराबीचमा छल्किएको प्रेम र भेट्ने इच्छा स्पष्ट रुपमा अनुभत गर्न सकिन्थ्यो।’ रोजगारीका लागि अहिले पनि भारतमै रहेका राजेशका बुवा–आमा छोरा फेला परेको समाचार थाए पाएपछि घर आउने तयारीमा छन्।
राजेशलाई आफू जन्मे, हुर्केको स्थान र त्यो समयको परिवेश सबै याद छ। भन्छन्, ‘पहिला स्कूलमा खेलेको याद आउँछ। अब घर गएपछि स्कूल जाने छु। आमा बुवासँग भेटेर धेरै रमाइलो गर्नु छ। अहिलेसम्मको न्यास्रोपन मेट्नु छ।’
उता दाइ विपेशले भने भाइलाई पहिलेको भन्दा फरक पाएको अनुभव सुनाए। ‘सानोमा उ सोझो थियो तर अहिले धेरै चलाख भएको रहेछ।’, भाइसँगको भेटपछि दाइ विपेशले नेपाल लाइभसँग भने।
राजेशको घरसम्म कसरी पुग्यो प्रहरी?
बालगृहबाट प्रवासी नेपाली मित्र मञ्चले उनीसहित ४ बालकको उद्दार गरेर परिवारको खोजतलास गरी जिम्मा लगाइदिनका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई बुझाएको थियो। सोपश्चात् राजेशको परिवारको खोजतलाश गर्दै प्रहरी उनको घरसम्म पुगेको थियो।
हाल अभिभावकलाई बुझाइएका राजेश विकले आफ्नो घर भजनी र त्यहाँ प्रहरी चौकी रहेको बताएका आधारमा परिवारसम्म पुग्न प्रहरी सफल भएको हो। रुपन्देही प्रहरीले भजनी नाम गरेको स्थान कहाँ रहेको बुझ्दै जादाँ कैलाली जिल्लामा इप्रका भजनी रहेको जानकारी पाएपछि त्यहाँस्थित प्रहरीलाई बालकको फोटो र विवरण सहित गाउँमा बुझ्न परिपत्र गरेको थियो। भजनी प्रहरीका अनुसार राजेशको फोटो देखाएपछि दाइ विपेशले फोटो र विवरण सनाखत गरेका थिए।
राजेशबाहेक अन्य २ जनाले पनि आफ्नो परिवारसँग भेट गर्न पाइसकेका छन्। भने १ जना अझै पनि जिल्लाको कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा परिवार र साथीभाइ भेट्ने प्रतिक्षामा छन्।
‘बालकहरुलाई लिएर आश्रममा त राख्यौँ। तर, बालकहरुलाई उनीहरुको परिवारसँग मिलन गराउने विषय ठूलो थियो।,’ आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली भन्छन्, ‘हामीले हार नमानी बालकका अभिभावकहरुलाई निरन्तर खोज्दै जादाँ ४ जनामध्ये ३ जना बालक आफ्नो घर फर्किसकेका छन्।’
उनले बाँकी रहेका एक जनाको परिवारको पनि खोजी भइरहेको बताए। ‘अर्का बालकका परिवारलाई पनि खोज्दै छौँ, छिटै मिलन गराउन सफल हुनेछौँ भन्ने आशा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।