नेपाल भर्सेस द नेदरल्यान्ड्स
स्थान – भिआरए मैदान, आम्सटर्डम
खेल – पहिलो एकदिवसीय क्रिकेट
मिति– १६ साउन
समय– दिउँसो २:४५ बजे
काठमाडौं– अन्तत: नेपाली क्रिकेटका लागि बहुप्रतिक्षित दिन आएको छ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २ दशकपछि नेपालले बुधबार अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा डेब्यू गर्दैछ। साढे चार महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको थियो।
कान्छो एकदिवसीय राष्ट्र नेपालले बुधबार नेदरल्यान्ड्ससँग एकदिवसीय खेल खेलेर इतिहास बनाउन लागेको हो। नेदरल्यान्ड्सको निमन्त्रणामा आम्सटर्डम पुगेको नेपाली टिमको नेतृत्व पारस खड्काले गर्नेछन्। नेपाली क्रिकेटको कप्तानी सम्हालेको १ दशक पुग्न लाग्दा खड्काले धेरै सफलताको कथा लेखेका छन्। बुधबार उनका लागि अर्को सफलताको कथा हुनेछ।
ेटिममा युवा स्टार सन्दीप लामिछाने हुँदा नेपालकाे अागामी यात्रा उज्ज्वल हुनेमा अाशा राख्न सकिन्छ। किनकी १७ वर्षीय लेग स्पिनर सन्दीप लामिछानेले गएकाे एक वर्षको बीचमा भारतको चर्चित लिग आइपिएल मात्र होइन स्टार खेलाडीको जमघट हुने टिम विश्व-११ मा समेत स्थान बनाइसकेका छन्। गत महिना क्यानडाको ग्लोबल टी–२० खेलेका उनी आगामी महिना क्यारेबियन लिग खेल्न वेस्टइन्डिज जाँदैछन्।
टिममा लामो सययदेखि रहेका शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषवाकर र ज्ञानेन्द्र मल्लका लागि बुधबार ऐतिहासिक दिन हुँदैछ। दशक लामो सयम नेपाली क्रिकेटका लागि योगदान दिएका सबैजना पहिलो एकदिवसीय खेलका लागि उत्साहित देखिएका छन्।
सिरिजपछि नेपाली टिमका सबैभन्दा अनुभवी खेलाडी शक्तिले संन्यास लिने घोषणा गरिसकेका छन्। युरोप भ्रमणमा जानुअघि शक्तिले भनेका थिए, 'नेपाली टिमबाट एकदिवसीय खेल खेल्ने मेरो सपना पूरा भएको छ। आशा छ बाँकी खेलाडीले नेपालका तर्फबाट टेस्ट खेल्नेछन्।'
पहिलो एकदिवसीय खेललाई लिएर कप्तान पारस खड्का उत्साहित छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई भनेका छन्, 'हामी सधैं चुनौति स्विकार गर्दै अघि बढ्न चाहान्छौं। ८ वर्षअघि हामी डिभिजन–५ खेलिरहेका थियौं। अहिले हामी विश्वकपको उत्कृष्ट १६ टिम भित्र छौं। चार वर्षका लागि एकदिवसीय मान्यता पनि पाएका छौं।'
एकदिवसीय मान्यता पाएर पहिलाे खेल खेल्न लागिरहेकाे नेपाली टिम ८ वर्षकाे अन्तरमा अनुभवी समेत बन्दै गइरहेकाे छ। तर नेपालले पहिलो एकदिवसीय खेल खेल्न लागेको नेदरल्यान्ड्स बढी अनुभवी छ। चार वर्षअघिसम्म उसले ७९ एकदिवसीय खेलिसकेको थियो। नेदरल्यान्ड्सको टिममा कप्तान पिटर सिलार, वेस्ली बारेसी, स्टेफिन माइबुर्घ, म्याक्स ओडोउड, मिचेल रिप्पफक्षन र पाउल भान मीकेरेन जस्ता प्रतिभावान खेलाडीको जमघट छ। नयाँ खेलाडीले पनि डच टिम थप बलियो बनेको छ। त्यसैले नेपालका लागि पहिलो एकदिवसीय खेल सजिलो भने हुनेछैन।
हेड टु डेड
विश्वकप छनोट, जिम्बावे, मार्च – २०१८
नेदरल्यान्ड्स–१८९/९
नेपाल–१४४
नेदरल्यान्ड्स ४५ रनले विजयी
डब्लुसिएल च्याम्पियनसिप, अगस्ट २०१६
नेपाल– २१७/९
नेदरल्यान्ड्स– १९८
नेपाल १९ रनले विजयी
डब्लुसिएल च्याम्पियनसिप, अगस्ट २०१६
नेपाल–९४
नेदरल्यान्ड्स–९६/३
नेदरल्यान्ड्स ७ विकेटले विजयी
डिभिजन–२, जनावरी २०१५
नेदरल्यान्ड्स –१५८
नेपाल–१५९/८
नेपाल २ विकेटले विजयी
विश्वकप छनोट सातौं स्थान प्लेअफ, जनावरी २०१४
नेपाल–१७१/९
नेदरल्यान्ड्स–१७२/३
नेदरल्यान्ड्स ७ विकेटले विजयी
प्लेयर्स टु वाच
वेस्ली बारेसी
नेपालविरुद्ध अाइतबार राति लर्ड्समा भएको टि-२० खेलमा बारेसीले ४४ रन प्रहार गरेका थिए। टिमका अनुभवी खेलाडी उनले २८ एकदिवसीय खेल खेलेका छन्। एक दशक डच टिममा रहेका उनी नेपालविरुद्ध घातक बन्न सक्छन्।
सन्दीप लामिछाने
मैदानको कन्डिसन अनुसार सन्दीप नेपालका लागि हतियार बन्न सक्छन्। स्पिन बलिङमा पिचले साथ दिँदा सन्दीपले चाहिएको बेला विकेट लिन सक्छन्। अर्कोतर्फ उनीसँग विश्वकपका उत्कृष्ट खेलाडीलाई बलिङ गरेको अनुभव छ।
मैदानको अवस्था
मैदानमा पछिल्लो पटक नेदरल्यान्ड्स र स्कटल्यान्डबीच टी–२० खेल भएको थियो। खेलमा स्कटल्यान्डले २२१/३ बनाउँदै राम्रो ब्याटिङ पीच भएको संकेत दिएको थियो। यद्यपी नेदरल्यान्ड्स १ सय ६ रनमै समेटियाे। खेलमा स्कटल्यान्डका हाम्जा ताहिरले ३ विकेट लिएका थिए। त्यसैले मैदान स्पिनरका लागि राम्रो भन्न सकिन्छ। मैदानमा बुधबार बादल लाग्न सक्ने पनि बताइएकाे छ।
नेपाली टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल
नेदरल्यान्ड्स टिम
पिटर सिलार (कप्तान), वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मीकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।