इटहरी– वैशाख २७ मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ९ बस्ने रुद्र अधिकारी द्वारा सोही वडामा डेरा गरी बस्ने १८ वर्षीया युवती बलात्कृत भइन्। एक छोराका साथ डेरा बस्दै आएकी उनको अधिकारीसँग फेसबुकमा चिनजान भएको थियो। करिब दुई महिनादेखिको फेसबुक सम्पर्कपछि अधिकारीले शारीरिक सम्पर्क राख्न आग्रह गरेपछि युवतीले अस्वीकार गरेकी थिइन्। अधिकारीले नग्न तस्बिरमा उनको टाउको जोडिएको फोटो बनाएर युवतीलाई म्यासेज गरेपछि युवतीले आत्तिएर त्यसो नगर्न भनिन्। तर, अधिकारीले ‘कि मैले भनेको मान् नत्र फोटो सार्वजनिक गरिदिन्छु’ भन्दै धम्की दिए। उनले पहिला ती युवतीलाई भेट्न आग्रह गरे। र पछि अधिकारीले होटलमा नास्ता खाने र थकाइ मार्ने भन्दै लगेर जबरजस्ती करणी गरेको युवतीले प्रहरीलाई बयान दिएकी छिन्।
सुनसरी बराह नगरपालिका वडा नम्बर ३ बस्ने मनोज खत्रीले २०७५ वैशाख २१ मा मामाघर जाने क्रममा एक बालिकालाई फकाएर जबरजस्ती करणी गरे। म मामा घर बाइकमा पुर्याेइदिन्छु भन्दै मनोजले फकाएर जंगलमा लगेर बलात्कार गरेको पीडित बालिकाले बयान दिएकी छिन्। १४ वर्षीया बालिकाको नाता पर्ने मनोजले त्यसपछि पनि बारम्बार फकाएर र धम्काएर जबरजस्ती करणी गरेको प्रहरीलाई बालिकाले भनेकी छिन्।
२०७४ मंसिर ८ मा इटहरी उपमहानगर वडा नम्बर १७ बस्ने चन्द्रनारायण चौधरी र सोही वडाका इसुव मियाद्वार एक युवती बलात्कृत भइन्। भोलिपल्ट बिहान उनी इटहरीकै विष्णु होटलमा अचेत अवस्थामा फेला परिन्। चौधरी र मियाले उनलाई सानो काम छ भन्दै मोटरसाइकलमा हालेर होटलमा ल्याएका थिए। तर, होटलमा ल्याएपछि उनीहरूले जबरजस्ती करणी गरेको पीडित महिलाले प्रहरीलाई बताएकी छिन्। सुरुमा बिहे गर्छु कसैलाई नभन भनेको र पछि नमानेपछि यातना दिएर जबरजस्ती गरेको उनको बयानमा उल्लेख छ।
बलात्कारका यस्ता घटना दैनिक सञ्चार माध्यममा आइरहने समाचार बनेका छन्। पछिल्लो समयको आँकडा हेर्ने हो भने बलात्कारका घटनामा वृद्धि हुँदै गइरहेको पाइन्छ।
प्रदेश १ को ३ वर्षको तथ्यांक हेर्दा जबरजस्ती करणकीको घटनामा वृद्धि भएको पाइन्छ। आर्थिक वर्ष २०७२/७३ मा प्रदेश १ मा मात्रै २ सय ४९ वटा बलात्कारका घटना भएका थिए। आर्थिक वर्ष २०७३/७४ मा २ सय ९३ र आर्थिक वर्ष २०७४/७५ मा ३ सय ८४ गरी ३ वर्षमा बलात्कारका ९ सय २७ उजुरी दर्ता भएको प्रहरीको तथ्यांमा छ।
२०७२/७३ देखि ०७३/७४ सम्म आइपुग्दा जबरजस्ती करणकीको घटनामा १८ प्रतिशतले वृद्धि भएको छ भने २०७३/७४ देखि ०७४/७५ सम्ममा ३१ प्रतिशतले वृद्धि भएको छ।
त्रिवर्षीय आँकडा अनुसार सबैभन्दा धेरै झापामा २ सय ३ घटना भएका छन्। त्यसपछि मोरङमा १ सय ९६ र सुनसरीमा १ सय ६३ घटना जानकारीमा आएको प्रहरीले जनाएको छ।
पछिल्ला ३ वर्षमा इलाममा ६६, उदयपुरमा ६४, पाँचथरमा ४१, तेह्रथुममा २६, धनकुटामा २५, ताप्लेजुङ र ओखलढुंमा समान १९, खोटाङमा १७ र सोलुखुम्बुमा १६ वटा जबरजस्ती करणीका घटना भएका छन्।
त्यस्तै, जबरजस्ती करणी उद्योगमा पछिल्लो ३ वर्षमा ४ सय १२ वटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७२/७३ मा १ सय ११, आव २०७३/७४ मा १ सय १४ र आव २०७४/७५ मा १ सय ८७ वटा मुद्दा दर्ता भएका छन्।
यो तथ्यांक मूल्यांकन गर्दा उजुरी दर्ता भएका आधारमा मुद्दाको संख्यामा भने कमी देखिन्छ।
समाजशास्त्री अर्जुन उप्रेती प्रहरीसम्म उजुरीमै नआइपुगेका यस्ता घटना अझै धेरै हुन सक्ने बताउँछन्। पहाडी जिल्लाबाट यस्ता घटनाको उजुरी प्रहरीसमक्ष आइनपुग्न नसक्ने उनको अनुमान छ। गाउँमै मिलाएर समस्या सुल्झाउने चलनले पनि धेरै पीडित निस्सासिएर बसिरहेको हुनसक्ने उनले बताए।
‘प्रहरी समक्ष गए सामाजिक रूपमा बेइजत हुन्छ भन्ने धारणाले धेरै घटना बाहिर आउन सकेका हुँदैनन्,’ उनी भन्छन्, ‘महिलाको इज्जत नाकको टुप्पोमा हुन्छ, सानो घटनाले भोलि समाजमा जिउन समस्या पर्छ भन्ने मानसिकता व्याप्त छ। त्यसैले पनि धेरै घटना गुपचुप हुने गरेका छन्।’
घटना भए पनि सार्वजनिक नहुनु र सार्वजनिक भए पनि स्थानीयस्तरमै मिलाउने परिपाटीले पीडितले न्याय पाउन नसकेको उप्रेतीको बुझाइ छ।
प्रहरी अधिकारीहरुले नै बलात्कार जस्तो जघन्य अपराधलाई सार्वजनिक गर्नुभन्दा मिलाउनतिर जोड दिने गरेको उदाहरण पनि प्रसस्त छ। केही समयअघि इटहरीको रोयल रिसोर्टमा एक बालिका बलात्कृत भएको घटनामा तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी केही समय निलम्बनमा परे। उक्त घटना मिलाउन जनप्रतिनिधिसमेत संलग्न रहेको खुल्न। घटनाका आरोपी प्रहरीकै मिलेमतोमा भारत गएर बसेको तथ्यसमेत बाहिर आयो।
बलात्कारका घटना पहिला पनि उत्तिकै हुने गरेको तर हाल सार्वजनिक हुने क्रम बढेको बताउँछिन् मनोविमर्शकर्ता मञ्जिता पाण्डे। ‘मिडियामा सहज पहुँचका कारण पनि घटना सार्वजनिक हुन थालेका छन्। तर, समाजमा अझै पितृसत्ता हाबी भएकाले महिलाभित्रको त्रास हट्न सकेको छैन,’ उनी भन्छिन्, ‘सामाजिक सञ्जालमा सहज पहुँचसँगै कसैप्रति चाँडै विश्वास गर्नाले पनि बलात्कारका घटना हुने गरेका छन्।’ सामाजिक सञ्जालमा भेटिने व्यक्तिहरुलाई तत्काल विश्वास नगर्न, आफ्नो सुरक्षामा ध्यान दिन र आफ्नो वरिपरिकैबाट कुनै यौनजन्य शंकास्पद गतिविधि देखिए आफन्तलाई जानकारी गराउन किशोरी तथा महिलालाई उनी सुझाव दिन्छिन्।
यस्तै, तराईका सहरी क्षेत्रमा लुक्न सहज हुने, लगाइफकाई गरेर होटलहरुमा जबरजस्ती गर्ने, घटना हुनासाथ भारतका विभिन्न स्थानमा भाग्न सजिलो हुने जस्ता कारणले तराई क्षेत्रमा जबरजस्ती करणीका घटना कम हुन नसकेको प्रदेश १ का प्रहरी प्रमुख केदार रिजाल बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।