काठमाडौं– नेपाली संस्कृति परिषद् अन्तर्राष्ट्रियले आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्तीको अवसरमा नेपाली फिल्म निमात्री रज्जु प्रधानलाई पुरस्कृत गरेको छ।
नेपाली चलचित्र मार्फत् भाषा संरक्षणमा योगदान दिएको भन्दै फिल्म ‘सय कडा दश’की निमात्री प्रधानलाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो। भारतको राजधानी नयाँ दिल्लीस्थित एनडिएमसी कन्भेन्सन सेन्टरमा भएको ‘भानु सम्मान पुरस्कार समारोह’ मा उनीसहित तीन जनालाई सम्मान गरिएको थियो।
चलचित्रको माध्यमबाट नयाँ पुस्तामाझ सामाजिक मूल्य, मान्यता र उनीहरुको उत्तरदायित्व बोध गराउन चलचित्र निर्माण गरे बापत दर्शन नेपाल क्रियसन प्रालिकी अध्यक्ष प्रधानलाई ‘अन्तर्राष्ट्रिय भानु नेपाली फिल्म जगत् सेवा सम्मान’ बाट पुरस्कृत गरिएको हो।
प्रधानद्वारा गत वर्ष निर्माण गरिएको शिक्षामूलक लघु चलचित्र ‘भरोसा छ तिम्रै’ नेपाल तथा भारतस्थित विभिन्न स्कुल तथा कलेजहरुका प्रर्दशन गरिएको थियो।
यो वर्षको अन्तर्राष्ट्रिय भानु पुरस्कार मानव सेवा उत्थान पुरस्कार सतपाल जी महाराज इन्द्रेश कुमार र रोहित राज महाराजलाई प्रदान गरिएको छ। यसैगरी, यो वर्षको अन्तर्राष्ट्रिय कार्यकर्ता भानु पुरस्कार हर्कबहादुर स्वार (मध्य प्रदेश), नेपाली भाषी मित्र पुरस्कार दिनेश सोनी (राजस्थान,) सामाजिक सौहार्द पुरस्कार इन्द्र चापागांई (असम) र मातृशक्ति उद्धार पुरस्कार बन्दना राई (दार्जीलिङ) लाई प्रदान गरिएको थियो।
यसैगरी, नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरेबापत अमेरिका निवासी साहित्यकार ज्ञानेन्द्र गदाललाई भाषा साहित्य सम्बर्द्धन सम्मान दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।