चितवन- मिर्गौला तस्करको आरोपमा चितवन प्रहरीले पाँच जनालार्इ पक्राउ गरेको छ।
जिल्लामा स्वास्थ्य सम्बन्धी विभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय भरतपुरले असार २५ देखि ७ जनाको टोली बनाई मेडिकल रेस्पोन्स टिम बनाएको थियो।
अन्ततः सोही टिमले चितवनबाट मिर्गौला तस्करी हुने गरेको फेला पारेको हो।
प्रहरीले पाँच जनालाई पक्राउ गरेपछि यस क्षेत्रबाट मिर्गौलाको तस्करी हुने गरेको पाइएको चितवनका प्रहरी प्रमुख एसपी शुशीलसिंह राठौरले बताए।
पक्राउ पर्नेमा नुवाकोट पन्चकन्या गाउँपालिका वडा नम्बर ४ का हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहट चन्द्रपुर नगरपालिका–४ का विक्रम पहरी, मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ५ का प्रकाश तामाङ, मोरङको साविक बयरबन गाविस–६ का दीपक लिम्बू र रसुवाको उतरगया गाउँपालिका वडा नम्बर ३ का विशाल नेपाली छन्।
मिर्गौला तस्कर समूहमा संलग्न भएको आरोपमा विक्रम पहरी, प्रकाश तामाङ र दीपक लिम्बूलाई यही साउन १ मा चितवनबाट, दुर्गाबहादुर दर्जीलाई सोही दिन काठमाडौंबाट र विशाल नेपालीलाई साउन ४ मा रसुवाबाट पक्राउ गरिएको उनले जानकारी दिए।
दुर्गम क्षेत्रका मानिसमा रहेको अशिक्षा र गिरिबीको गलत फाइदा उठाई उनीहरुलाई प्रलोभनमा पारेर मिर्गौला तस्करी गर्ने गरेको र यो गिरोहमा थुप्रै व्यक्ति संलग्न भएको हुन सक्ने भन्दै थप अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए।
पक्राउ परेका दुर्गा परियार बाहेकका अन्यले अरु तस्करहरुको सम्पर्कमा भारतका विभिन्न अस्पतालमा पुर्याकई मिर्गौला बिक्री गर्ने गरेको एसपी राठौरले जनाए।
'सोझा-सिधा तथा निमुखा सर्वसाधारणलाई प्रलोभनमा पारी भारतका विभिन्न अस्पतालमा गली मिर्गौला तस्कर गर्ने गरेको खुल्न आएको छ,' उनले भने, 'हामीले यस विषयमा थप अनुसन्धान गरिरहेका छौं।'
उनीहरुले मिर्गौला बिक्री गर्ने मानिस खोजेर भारतीय अस्पतालमा सम्पर्क गराइदिए बापत एक जनाबाट ५० हजारदेखि १ लाख रुपैयाँसम्म कमिसन लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। मिर्गौला तस्करीमा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको र पक्राउ परेकाहरु उपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान भइरहेको राठौरले जानकारी दिए।
प्रहरीले नेपालबाट मिर्गौला तस्करी गर्ने गिरोहका मुख्य नाइके अमित कुमारलाई केही वर्षअघि चितवनबाटै पक्राउ गरेको थियो। अमित कुमारकै सञ्जाललाई निरन्तर पच्छ्याउँदै आएको प्रहरीले मिर्गौला तस्करी गिरोहमा संलग्न अन्य व्यक्तिलाई समेत पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।