रसुवा– नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापरिक नाका रसुवागढीमा सवारी आवागमन ठप्प भएको छ। अविरल वर्षासँगै आएको बाढीले जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेस्थित घट्टेखोलामा रहेको पक्की पुलमा क्षति पुर्याएपछि साना तथा ठूला सवारी सञ्चालनमा रोक लगाइएको हो।
सवारी सञ्चालन गर्दा उच्च जोखिम भएकाले साना तथा ठूला सवारी सञ्चालनमा रोक लगाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। ‘शुक्रबार साना सवारी सञ्चालन भइरहेको थियो भने ठूला कन्टेनर सञ्चालनमा रोक लगाइएको थियो। तर दुर्घटना हुने जोखिम बढेपछि शनिबारदेखि सबैखाले सवारी सञ्चालन गर्न दिइएको छैन।’
सवारी आवतजावतमा रोक लगाएसँगै नेपाल तथा चीनतर्फ गरी करिब २ सयभन्दा बढी कन्टेनर रोकिएर बसेको रसुवागढीका प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताए। उनले भने, ‘नेपालतर्फ मालबाहक १ सयभन्दा बढी र चीनतर्फ ७० वटा कन्टेनर रोकिएका छन्।
पुलको अवस्थाका बारेमा जानकारी लिन डिभिजन सडक कार्यालयबाट इन्जिनियरको टोली खटिसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
उक्त पुल चिनियाँ पक्षले निर्माण गरेको बताइएको छ। पौडेलले पुलको ‘ड्रोइङ डिजाइन’ हेरेर त्यहाँको अवस्थाको बारेमा जानकारी लिएपछि मात्रै पुल मर्मतका सम्बन्धका भन्न सकिने बताए।
‘चीनले बनाएको पुलको पिल्लर भाँसिएको छ। तलको बेसमा ढलान गरेको छ कि छैन भनेर ड्रोइङ डिजाइनमा हेर्नुपर्छ। ढलान गरिएको छ भने थप सपोर्ट वाल लगाएर भोलि नै गाडी चलाउन सकिन्छ।,’ पौडेलले भने, ‘नत्र, कि वैकल्पिक मार्ग तयार नहुन्जेल वा पुल नबनुन्जेलसम्म गाडी आवतजावत हुने अवस्था देखिँदैन।’
उनले पुलको ‘बेस’मा ढलान नगरेको पाइएमा सामान्य मर्मतले मात्र नपुग्ने र पुल नै पुनःनिर्माण गर्नुपर्ने तर्क गरे।
बुधबार राति गएको पहिरोको कारण बिहीबारदेखि नै रसुवागढी नाकामा सवारी सञ्चालन हुन सकेको थिएन।
सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट चीनतर्फको आयात निर्यात बढ्दै गएको छ। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरेको थियो। सवारी आवतजावत ठप्प हुँदा दैनिक हजारौँको राजश्व गुम्ने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।