नेपालगन्ज– सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले नेपालगन्जमा सांगीतिक कार्यक्रम गरिएको छ।
नेपालगन्जमा बसोबास गर्ने हिन्दु, इस्लाम, बौद्ध, शिख तथा इसाई धर्मालम्बीहरुबीच आपसी मेलमिलाप र एकता कायम राख्ने उद्देश्यले नेपालगन्जको सिद्धार्थ कटेजमा ‘सुमधुर साँझ’ कार्यक्रम गरिएको हो।
कार्यक्रममा विभिन्न धर्मका गुरुहरु, नेपालगन्जका नागरिक समाजका अगुवा, जनप्रतिनिधि, उद्योगी, व्यवसायी, सुरक्षा अधिकारी, सर्वसाधारणको जमघट भएको थियो। सुमधुर साँझमा चर्चित गायिका मेलिना राईले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेकी थिइन्। राईले कुटुमा कुटु सुपारी दाना, तिम्ले बाटो फेर्यौ अरे, मनको नजिक तिमी सधैं र कम्बर माथि पटुकी जस्ता आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्दा सुमधुर साँझको माहोल संगीतमय बनेको थियो। हलमा बसेका कोही कम्मर मक्र्याइरहेका देखिन्थे भने कोही राईसँगै आवाज मिसाइरहेका थिए।
राईसँगै गायकहरु कन्क्राइस्ट राई, पूर्ण थापा लगायतले पनि आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरुले पनि गीतमार्फत नै सामाजिक सद्भाव र एकापसमा भाइचाराको सम्बन्ध कायम राख्न नेपालगन्जबासीलाई आग्रह गरेका थिए।
सबै धर्म र सम्प्रदायका मानिसहरु एकै ठाउँमा बसेर गीतसंगीत सुन्दै मनोरन्जन लिने वातावरणले सामाजिक सद्भाव कायम राख्न मद्दत पुर्याउने कार्यक्रम मूल आयोजक समिति अध्यक्ष नन्दलाल वैश्यले बताए।
नेपालगन्ज सुमधुर साँझमा नेपालगन्जका युवा कलाकारहरुले सामूहिक तथा एकल नृत्य समेत प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।