रसुवा– रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले आर्थिक सहयोग गरेका छन्। सांसद आचार्यले शुक्रबार पार्टी जिल्ला कमिटिमार्फत पहिरोमा परि ज्यान गुमाएका तीन परिवारलाई व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका हुन्।
उनले मृतकका परिवारलाई जनही ६६ हजार ६ सय ६६ रुपैयाँका दरले २ लाख रकम आर्थिक सहयोग गरेको प्रदेशसभा सांसद प्रभात लामाले बताए।
पहिरोमा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–१, थुमनका ४५ वर्षीय मिङमार गोम्बो तामाङ, वडा नम्बर २ टिमुरेका ४७ वर्षीय दोर्जेवाङजु घले र उनकी श्रीमती ३७ वर्षीय कार्साङ किमो घलेसहित ९ जनको मृत्युको भएको थियो।
त्यस्तै नेपाली कांग्रेस प्रदेश ३ को संसदीय दलको तर्फबाट समेत पहिरोमा परी ज्यान गुमाएका ९ परिवारलाई जनही १० हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको प्रदेशसभाका सांसद लामाले जानकारी दिए। उनले प्रदेश सरकारको विपद व्यवस्थापन कोषमार्फत थप सहयोगका लागि पहल गर्ने समेत बताए।
प्रदेश सांसद लामाका अनुसार प्रदेशप्रमुख अनुराधा कोइरालाले पनि एक सन्देश जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै विपदमा परेकाका लागि राहतको व्यवस्था गर्ने बताएकी छिन्।
बुधबार मध्यरात अविरल वर्षासँगै गएको पहिरोमा परि रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका गरि ९ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।