नेपालगन्ज– बाँके जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको मूल नहर फेरि भत्किएको छ।
बाँकेमा धान रोपाइँका लागि आयोजनाले मूल नहरमा ४ क्युसेक पानी छोडेको एक सातामै ढकेरीको चंगाई खोला नजिकै मूल नहरको दक्षिणी भाग भत्किएको हो।
करिब ४ वर्ष पहिले ५० क्युसेक क्षमताको भनी बनाइएको मूल नहर परीक्षणका क्रममा ४ क्युसेक पानी छाडेको एक हप्तामै भत्किएपछि नहरको गुणस्तरमा प्रश्न उठेको राप्ती सोनारी ८ का वडाध्यक्ष खुमबहादुर बस्नेतले बताए। नहरका विभिन्न ठाउँ चर्किएका छन्।
भत्किएको स्थानमा मर्मतको काम सुरु गरिएको आयोजनाका प्रमुख रमेश बस्नेतले जनाएका छन्। उनले के कारण नहर भत्किएको हो त्यसको अध्ययन गर्न प्राविधिकहरुको टोलीलाई खटाइएको बताए।
धान रोपाइँ गर्ने तरखरमा रहेका किसानहरु नहर भत्किएपछि समस्यामा परेका छन्। सिक्टाको मूल नहर पटक–पटक भत्किन थालेपछि नहरको किनारामा रहेका गाउँका बासिन्दा नहर भत्किएर गाउँ पस्ला कि भन्ने चिन्तामा रहेको स्थानीय बासिन्दा डिल्ली गिरीले बताए।
मूल नहरको ढकेरी, बालापुर क्षेत्रमा घुलनशील (डिसपर्सिभ सोयल अर्थात् माटोमा बालुवा र नुनको मात्रा धेरै भएको) माटो छ। तर, नहर निर्माण गर्दा धरातलीय बनौट र माटोको अवस्थाबारे राम्रोसँग अध्ययन नगरी निर्माण गरिएकाले नहरमा पानी छोड्ना साथ पानी लिकेज भई नहर भत्किने गरेको गिरीले बताए। पटक–पटक त्यही क्षेत्रमा नहर भत्किएका कारण त्यसको प्राविधिक रुपमा अध्ययन गरी मर्मत गर्नुपर्ने उनले बताए।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राखिएको सिक्टा देशकै ठूलो सिँचाइ आयोजना हो। निर्माण कार्य सुरु भएको १३ वर्षमा १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसक्दा पनि सिक्टाले सिँचाइ सुविधा दिन सकेको छैन।
‘आइसिपी–टू’ ठेक्काअन्तर्गत ठेकेदार कालिका कन्स्ट्रक्सनले नहरको निर्माण गरेको थियो। दुई वर्षअघि २०७३ असार १४ मा पनि मूल नहर परीक्षणकै क्रममा ढकेरीस्थित झिझरी खोला नजिक भत्किएको थियो।
निर्माण सुरु गर्दा करिब १२ अर्ब ८० करोडको लागतमा २०७० माघसम्म नहरको मुख्य निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिए पनि निर्माण कार्य लम्बिँदा २०७५ असार मसान्तसम्म १४ अर्ब ७० करोड खर्च भइसकेको छ।
लक्ष्य अनुसार काम नहुँदा लागत दोब्बर बृद्धि भई २५ अर्ब २ करोड पुगेको र आब २०७६/७७ सम्म पूरा गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।