जनकपुरधाम– धनुषा जिल्लाको नगराईन नगरपालिकास्थित जटही पिपरौनको दशगजा क्षेत्रमा भारतीय पक्षले नेपाली भूमिमा भन्सार चेकपोष्ट बनाउन लागेपछि नेपालका तर्फबाट नापीको काम सुरु भएको छ।
करिब एक महिना पहिला भारतीय पक्षले जटही पुल नजिकै दशगजा क्षेत्रमा चेकपोष्ट बनाउन सुरु गरेको थियो। तर सशस्त्र प्रहरी विओपी नगराईनले काममा रोक लागाएपछि विवाद भएको थियो।
बिहीबार नेपाल सरकार परराष्ट्र तथा गृह मन्त्रालय प्रतिनिधि तथा नापी विभागका उपसचिव रमेश ज्ञवालीसहितको टोलीले नापीको काम सुरु गरेका हुन्। ‘भारतीय पक्षबाट सुरु गरिएको निर्माण कार्य दशगजा भित्र पर्यो कि परेन, सोको नक्सा बमोजिम स्थलगत जाँच्ने काम सुरु गरेका छौँ। यसको नतिजा १० दिन भित्र आउँछ।’, उपसचिव ज्ञवालीने भने।
त्यस्तै, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अन्तर्गत बेला गाउँमा रहेको नदीमा पुल बनाउन लागेको कामलाई समेत भारतीय पक्षले रोक लगाएपछि त्यसको समेत अनुगमन गरिएको छ। भारतीय एसएसबी प्रतिनिधिको उपस्थितीमा उपसचिव ज्ञवाली, धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलिया, सशस्त्र प्रहरी उपरिक्षक राजु पाण्डे, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रतिनिधि लगायतको उपस्थितीमा अनुगमन तथा नापीको काम सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।