रसुवा– गोसाइकुण्ड गाउँपालिका–२, टिमुरेमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीकार्य जारी छ।
पहिरोमा टासी देले नामक होटल समेत पुरिएकाले त्यहाँ कति मानिस बसेका थिए भन्ने यकिन नभएको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए।
तामाङका अनुसार पहिरोमा परी घाइते भएका १२ जनामध्ये ५ जनालाई चिनियाँ क्याम्पमा उपचारपछि थप उपचारका लागि काठमाडौ पठाइएको छ।
तामाङका अनुसार पहिरोमा परी मृत्यु हुनेमा गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ का मिङ्मर गोम्बो तामाङ, वडा नम्बर २ का दोर्जे वाङ्जु घले, उनकी श्रीमती कार्साङ सिमो घले, नुवाकोटकी शर्मिला कमिनी, नुवाकोट ककनी गाउँपालिकाका सुमो चालक रमेश तामाङको शव पुरिएको स्थानबाट निकालिएको छ।
यस्तै, सिन्धुपाल्चोक भोटेकोसी गाँउपालिका वडा नम्बर ५ का श्याम श्रेष्ठ, मंगल तामाङ, विक्रम श्रेष्ठ र भोटेकोसी गाउँपालिका वडा नम्बर ४ का सुस खड्का को पनि पहिरोमा पनि मृत्यु भएको छ।
प्रहरी नायब उपरीक्षक तामाङले पहिरोमा बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयबासी सहितको टोली सक्रिय रहेको बताए। रसुवागढी जलविद्युत् आयोजना र सडक डिभिजन कार्यालयको डोजर र स्काभेक्टर प्रयोग गरी हराएकाहरुको खोजीकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए। पहिरोमा परी ज्यान गुमाउनेहरू टिमुरेमा व्यापार गर्दै आएका व्यवसायी, कामदार तथा कन्टेनर र सुमोका चालक रहेको बताइएको छ।
बुधबार बिहान पौने १ बजे अविरल वर्षासँगै आएको पहिरोले टिमुरेस्थित प्रहरी चेक पोस्टसहित चारवटा घर पुरिएको थियो। नेपालबाट चीनको केरुङतर्फ सामान लिन जान लागेका ५ वटा कन्टेनर पनि पहिरोले पुरिएको रसुवाका प्रजिअ पौडेलले जनाए।
पहिरोपछि चीनसँग सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी अवरूद्व भएको छ। सडक र नाका शुक्रबार साँझसम्ममा सञ्चालनमा ल्याउने गरी पहिरो पन्छाउने काम भइरहेको प्रजिअ पौडेलले बताए।
प्रहरी नायब उपरीक्षक तामाङले यसअघि हराइरहेका भनी उल्लेख गरिएका १२ जना हराएको नभई घाइते भएकाहरुको नाम परेको भन्दै विवरण दिन गल्ती भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।