रसुवा– रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा पहिरोमा बेपत्ता ४ जनाको शव भेटिएको छ। २ घर पुरिएकोमा बेपत्ता भएका ७ जनामध्ये ४ जनाको शव भेटिएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।
सिडिओ पौडलका अनुसार बेपत्ता भएका अन्यको खोजी कार्य भइरहेको छ। घटनास्थलमा हाल नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयहरुको सहयोगमा उद्दार कार्य जारी रहेको सिडिओ पौडेलले बताए।
गएराति अविरल वर्षासँगै आएको पहिरोले २ घर तथा प्रहरी चौकी समेत पुरेको थियो। पहिरोमा परि १२ जना घाइते भएका छन्। घाइते १२ जनाको उद्दार गरिएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइने बताइए पनि रसुवाकै लिङलिङ भन्ने स्थानमा पहिरो खसेकोले एम्बुलेन्स घटनास्थल पुग्न सकेको छैन। घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हाल घटनास्थलको अवलोकन तथा उद्दारका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली टिमुरेतर्फ जाँदै गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।