डडेलधुरा– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राणा, पञ्चायत र राजा फाल्ने पार्टी कांग्रेस भएको दाबी गरेका छन्।
नेपाल प्रेस युनियन डडेलधुरा शाखाले मंगलबार डडेलधुरा सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘राणा, पञ्चायत र राजा सिद्धाएर तत्कालीन माओवादीलाई समेत जंगलबाट सत्तामा पुर्याएको कांग्रेसलाई अहिले सिद्धिँदै छ भन्नु एक किसिमको दम्भ हो।’
नेता सिंहले कांग्रेसले सरकारको राम्रो कामको समर्थन र गलत कार्यको विरोध गर्ने बताए। उनले भने,‘कांग्रेस सधै जनताको पक्षमा बोल्छ र काम पनि गर्छ। तर, कम्युनिष्टको सरकार आइसकेपछी जतनाले उपभोग गर्ने हरेक वस्तुमा कर वृद्धि भइरहेको छ।’
उनले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भैरहेको आरोपसमेत लगाए। ‘देशका सबै आन्दोलन तथा विरोध प्रर्दशनका कार्यक्रम भएको माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नु अधिनायकवादको संकेत हो।’, नेता सिंहले भने।
उनले अनसनरत डाक्टर गोविन्द केसीका जायज मागहरु तत्काल पूरा गर्दै उनको जीवन रक्षा हुनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।