काठमाडौं- सरकारी वार्ता टोली र २५ दिनदेखि अनसनरत डा गोविन्द केसीको वर्ता टोलीबीचको वार्ता सकारात्मक भएको छ। डा केसीले उठाएका मागमध्ये अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै सहमति जुट्न बाँकी छ।
बाँकी विषयमा बुधबार पुनः छलफल गरेर सहमति जुटाउनेगरी मंगलबारको वार्ता सकिएको छ। योसँगै डा केसीको अनसन पनि बुधबार नै तोडिनसक्ने सम्भावना रहेको वार्तामा बसेका एक सदस्यले जनाएका छन्।
चिकित्सा शिक्षा विधेयकका अधिकांश बुँदामा सहमति जुटे पनि मुख्य बुँदामा भने अझै सहमति हुन नसकेपछि बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने बताइएको छ।
दुई पक्षबीचको छलफलमा विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शय्याको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका विषयमा छलफल भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले जानकारी दिए।
यस्तै, विधेयकबाट हटाइएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका कार्यक्रमहरु समेत थप गर्ने विषयमा छलफल भएको थियो।
शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने थिए।
यसैगरी, डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।