लाङटाङ– रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पुरानो लयमा फर्किएको छ। २०७२ वैशाख १२ को भूकम्पले तहसनहस भएको लाङटाङ तीन वर्षपछि पहिलाकै स्वरुपमा फर्किएको छ।
लाङटाङबासीको लगनशिलता, परिश्रम र मिहिनेतका साथै विभिन्न संघसंस्थाको सहयोगमा लाङटाङ पुनर्जिवित भएको हो। भूकम्पले बगर बनाएपछि मानव बस्ती विहीन बनेको लाङटाङको पुनर्निर्माणको काममा स्थानीयहरुले दिलोज्याद दिएका छन्। पुनर्निर्माणसँगै लाङटाङबासीको दैनिकीमा परिवर्तन आएको र पर्यटकको आवागमन पनि क्रमिक रुपमा बढ्न थालेको गोसाइँकुण्ड गाउँपालिका ४ लाङटाङका वडाध्यक्ष सुब्बा लामाले बताए।
उनले भने, ‘भूकम्पले यो ठाउँको घरबार नै उठीबास गराएको थियो। तर, अहिले यहाँका मानिसको दैनिकी फेरिएको छ। लाङटाङमा पुरानै रौनक फर्किन थालेको छ।’
लाङटाङमा भूकम्पपछि संघसस्थाको सहयोगमा १ सय १६ मध्ये ५० भन्दा बढी निजी आवास निर्माण भइसकेको लामाले जानकारी दिए। उनी भन्छन्, ‘लाङटाङमा अहिले ५० वटाभन्दा बढी घर निमार्ण भइसकेका छन्। २० वटामा होटल छन्। कतिपय घर निमार्णाधीन अवस्थामा छन्।’
पदयात्रा पर्यटनका लागि नेपालकै तेस्रो गन्तव्यका रुपमा रहेको लाङटाङलाई फेरि त्यही अवस्थामा ल्याउन भूकम्पले पु¥याएको क्षति र घाउ बिर्सिएर लाङटाङबासी जुटेका छन्।
स्थानीय होटल व्यवसायी नोर्चुङ तामाङले भने, ‘कुरुप भएको हाम्रो लाङटाङ भूकम्प गएको तीन वर्षपछि पुरानो अवस्थामा फर्कंदै छ। भूकम्पको गहिरो घाउ अझै पनि बिर्सन त सकेका छैनौं, तैपनि लाङटाङको पुरानो सौन्दर्य अब देखिन थालेको छ।’
पदमार्गको सुधार, ठाउँठाउँमा होटलहरु निमार्ण र आवश्यक पर्यटकीय पूर्वाधार निर्माणले बर्सेनि स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढ्दै गएको लाङटाङका होटल व्यवसायीहरु बताउँछन्। होटल व्यवसायी तामाङले भने, ‘भुकम्पले गाउँ नै सोत्तर पारेको अवस्थामा पनि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेकाले हामी लाङटाङ बनाउन जुट्यौं।’
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार लाङटाङमा स्थानीयहरु बस्न थालेपछि र होटेल तथा लजको व्यवस्थापन भएसँगै आन्तरिक तथा बाह्य पर्यटक राम्रो संख्यामा आइरहेका छन्।
स्थानीय ङेरुप तामाङ भन्छन्, ‘भूकम्पअघि जति पर्यटक आउँथे अहिले त्यो भन्दा पनि बढी आउन थालेका छन्।’
२०७२ वैशाखको भूकम्पले लाङटाङमा २ सयभन्दा बढीले ज्यान गुमाएका थिए। ज्यान गुमाउनेमा स्थानीयबासीसँगै स्वदेशी तथा विदेशी पर्यटक पनि थिए। लाङटाङमा भूकम्पमा परेका कैयौं व्यक्ति अझै बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।