काठमाडौं– ललितपुरको नक्खु कारागारभित्र एक कैदीको फिल्मी शैलीमा भएको हत्यामा तीन जनाको संलग्नता खुलेको छ। ‘सिरियल किलर’ अभिषेकराज सिंहसहित सोही जेलमा रहेका अर्का कैदी मनोज चौरसियाको समेत हत्यामा संलग्नता खुलेको हो।
गत बैशाख १९ गते कैदी भक्तबहादुर सुनुवारको हत्या भएको थियो। सिंह, चौरसिया र धुव्रराज शर्मालाई अभियुक्त बनाई मंगलबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले डेढ महिना लगाएर गरेको अनुसन्धानमा तीन जनाको संलग्नता खुलेको हो।
चौरसिया ‘गुड फर पेमेन्ट’ मार्फत तत्कालिन एच एड बी बैंकमा करिब १ अर्ब घोटालाका अभियुक्त हुन्। उनी ५ वर्षदेखि जेलमा छन्। जेलभित्र जेलर र चौकीदारहरुलाई कारबाही गराउन उनीहरुले सुनुवारको हत्या गरेको सिआइबीका एसपी कृष्णहरी शर्माले बताए। पक्राउ परेका शर्मा पहिला चोरी मुद्दामा सोही जेलमा थिए। उनले नै सिंहलाई केमिकल जेलमा लगेर दिएका थिए।
सिरियल किलरको अर्काे फिल्मी शैलीको हत्या
सिंहलाई ‘नेपाली शोभराज’का उपनामले पनि चिनिन्छ। जसरी शोभराजले कुनै व्यक्तिसँग नजिकिने र उनीलाई नै हत्या गर्दथे, त्यसैगरी सिंहले पनि ५ जनालाई त्यसैगरी हत्या गरेका छन्। उनी २०७० सालमा पक्राउ परेका हुन्।
नख्खु जेलमा पनि उनले विगतकै शैलीमा हत्या गरे। अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीका अनुसार अभिषेक र सुनुवार जेलमा सँगै बस्दथे। सुनुवारलाई सिंहले माया गर्दथे। पछि आफ्नो स्वार्थ पुरा गर्न उनले सुनुवारलाई नै खानामा केमिकल मिसाएर खुवाई हत्या गरेका हुन्।
प्रारम्भिक अनुसन्धानमा बिरामी भएर सुनुवारको हत्या भएको आशंका गरिएको थियो। किनकी पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण खुल्न सकेको थिएन। त्यसरी हत्या गर्दा ‘फुड प्वाइजन’का कारण मृत्यु भएको देखिने भएकाले उनले यस्तो शैली अपनाएका हुन्। तर, प्रहरीलाई झुक्याउन सकेनन्।
घटनको सुक्ष्म अनुसन्धानको क्रममा हत्या गरेको खुलेको हो।
घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले कारागार व्यवस्था विभागका निर्देशक कृष्ण अधिकारीको संयोजकत्वमा छानिबन समिति गठन गरेको थियो। समितिले सिंहले नै हत्या गरेको आधार देखिएको र घटनाको विस्तृत छानबिनको जिम्मेवारी सिआइबीलाई दिन सुझाव दिएको थियो। सोही अनुसार सिआइबीले अनुसन्धान गरी मुद्दा दायर गरेको हो।
जेलर तथा चौकीदार लगायतसँग सिंह र चौरसियाको झगडा हुँदै आउको थियो। यही प्रकरणमा जेलर तथा चौकीदारलाई हटाउने उदेश्यले हत्या गरेका थिए।
हत्या अघि सुनुवारका नाममा गृहमन्त्रीलाई पत्र लेखिएको थियो, जसमा आफुलाई चौकीदारले १५ लाख रुपैयाँ मागेको, जेलम यातना दिइने लगायत आरोप लगाइएको थियो। पूर्व योजनाअनुसार सिंहले नै सो पत्र लेखेर हत्या समेत प्रष्ट भएको छ। गृहमन्त्रीलाई पत्र लेखेका व्यक्तिको जेलभित्र हत्या भएको विषयले हंगामा हुने र जेलर र चौकीकारको सरुवा हुने योजना बनाएर उनले आफ्नै साथीको फिल्मी शैलीमा हत्या गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।