विराटनगर– भारतबाट रेल ल्याउनका लागि मोरङको कटहरीसम्म धमाधम रेलमार्ग निर्माण भइरहेको छ।
भारतीय निर्माण कम्पनी इकर्नले नेपालतर्फको कटहरीसम्म रेल ल्याउन लिक बिच्छ्याइरहेको छ। रेल्वे निर्माण कम्पनी इकर्नले भारतको सीमावर्ती बथनादेखि विराटनगर भेडियारीसम्म रेल्वे परियोजनाको काम अघि बढाइरहेको छ।
नेपालतर्फको भेडियारी आसपासको सात किलोमिटर क्षेत्रमा धमाधाम काम भइरहेको इर्कनका सहायक प्रबन्धक रणवीर कुमारले जानकारी दिए।
कटहरी आसपासको ३ दशमलब ३ किलोमिटरसम्म भने लिक विछ्याउने काम रोकिएको छ। यस क्षेत्रको मुआब्जा विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले भने मुआब्जा विवाद समाधानका लागि भारतका प्रतिनिधि, निर्माण कम्पनी र जग्गाधनीसँग छलफल गरेर छिट्टै समाधान गर्ने बताएका छन्।
मुआब्जा विवाद समाधान भए आगामी वर्षको मार्च (फागुन–चैत) सम्ममा कटहरीसम्मै रेल गुडेको हेर्न पाइने दाबी रणवीर कुमार गर्छन्।
यो रेल परियोजना अन्तर्गत भारततर्फको काम भने अन्तिम चरणमा पुगेको छ।
‘रेल निर्माण निर्धारित समयभन्दा निकै ढिला भइरहेको छ, अब भने तिव्रताका साथ काम अघि बढेको छ,’ उनले भने।
बथनादेखि कटहरीसम्म चार वटा रेलको स्टेसन रहनेछन्। जसमा बथना भारतमा पर्छ भने बुधनगर, भेडियारी र कटहरी नेपाल क्षेत्रमा रहनेछन्।
भेडियारीमा भने रेल स्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
‘बथनाहा र भेडियारी दुवैतिरबाट काम धमाधाम भइरहेको छ,’ प्रदीप कुमारले भने।
आयोजना अनुसार हालसम्म नेपाल र भारत दुवैतर्फ गरेर २ अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको छ।
कुल ३ अर्ब ७३ करोड भारतीय रुपैयाँ (भारु) लागतमा बन्ने रेलमार्गको लम्बाइ १८ दशमलब ६ किलोमिटर छ। रेलको कुल लम्बाइमध्ये १० किलोमिटर नेपालमा पर्छ भने बाँकी ८ दशमलब ६ किलोमिटर भारततर्फ पर्नेछ।
सन् २०११ जनवरी २८ देखि सुरु भएको आयोजना सन् २०१३ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य तय गरिएको थियो।
रेलमार्ग बनेपछि नेपालका लागि अन्तर्राष्ट्रिय व्यापार सहज हुनेछ। रेलमार्गले हाल निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आइसिपी) लाई पनि जोड्ने भएकाले व्यापारमा थप सहजता आउनेछ। आइसिपी भेडियारी छेउमा निर्माणधीन छ।
भारतको कलकत्ताबाट रेलले ढुवानी गरेको वस्तु सिधै कटहरीसम्म ल्याउन यो रेलमार्गले सहज बनाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।